झापाको भारतीय सीमावर्ती क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि फेरि भारतीय नागरिकले आक्रमण गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा सशस्त्र र भारतीय नागरिकबीच झडप भएको हो ।
गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमास्तम्भ १५२ नजिकै झडप भएको होे । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो ।
लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ । घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले जानकारी दिएका छन् ।
घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताएका छन् । शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।