काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बाढी र पहिरोका कारण अबरुद्ध अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे तातोपानी सडकखण्ड खुलाउने काम सुरु भएको छ ।बिहीबार मात्रै जिल्लाको बाह्रबिसेको जम्बुक्षेत्र पुगेर फर्कनु भएका सभामुख सापकोटाले तत्काल राजमार्ग सुचारु गर्न पहल गर्नुभएको थियो ।
उहाँले शुक्रबार सिंहदरबार स्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गर्नुभएको प्रेस बिज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिंदै आफूले यसका लागि पहल जारी राखेको बताउनुभयो । छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गरिनुपर्ने बताउनुभयो । उहाँले तत्काल बाटो खोल्ने र सम्पर्क कायम गर्नुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिनुभयो । कामका सिलसिलामा स्थानीय स्तरमा आउन सक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीको आग्रह थियो ।
सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानी सम्म ११ ठाउँमा मुख्य क्षति भएको बताउनुभयो । उहाँले जुरेमा अबरुद्ध बाटो बनाउने काम जारी रहेको र कुनै अबरोध नभए केही दिनमै बाह्रविसेसम्मको बाटो सुचारु हुने विश्वास व्यक्त गर्नुभयो । खागदल, झ्याले र डाकलाङमा गरीकम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकन पछि मात्रै विस्तृत विवरण आउने उहाँको भनाई छ । महानिर्देशक शर्माले स्थानीय तहहरु सँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने स्पष्ट गर्नुभयो ।
छलफलमा सहभागी नेकपाका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले बाढीले पक्की पुलसमेत बगाएकोले यथासक्य छिटो बेलिब्रिज हालेर बाटो खुलाउनु पर्नेमा जोड दिनुभयो । पहिलो चणमा एम्बुलेन्स लगायतका साना सवारीसम्म चल्ने बाटो बनाउने र दोस्रो चरणमा सामान ढुवानीका लागि बाटो बनाउनुपर्ने उहाँको सुझाव थियो । अर्का केन्द्रीय सदस्य सरल सहयात्रीले बाह्रबिसेदेखि जम्बुखण्डको बाटोमा धेरै क्षति पुगेकोले अस्थाई रुपमा बाटो सञ्चालनका लागि बाह्रबिसे बाट खोलावारीको बाटो मर्मत गरी जम्बुसम्म पुग्न सकिने बताउनुभयो ।उहाँले त्यसका लागि स्थानीयस्तरमा सहजीकरण गरिने बताउनुभयो ।
नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय स्तरमा आउने समस्या समाधान र सहजीकरणका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यहीअसार २४ र २५ गते रातिका भारी बर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानी सम्मको बाटो अबरुद्ध छ ।
बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदल देखि जम्बु जाने सडकखण्ड, जम्बु बजार क्षेत्र, नयाँपुल सडकखण्डमा क्षति पुगेको छ ।
यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटेपुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।