काठमाण्डाै, पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गरेका छन् ।
श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गरेका हुन् । आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताए । उनले भने हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन, बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन ।
निजी क्षेत्रका आरोहीले लगेको बाइनाकुलरबाट शिखरको अवलोकन गरेको श्रेष्ठले बताए । प्रस्टसँग देखिने भएकोले आउँदा दिनमा पर्यटन विभागले यस्ता प्रविधिको प्रयोग गर्न सक्नेबारेमा विभागलाई जानकारी गराउने उनले बताए । यसैबीच आज झण्डै डेढ सय आरोही सगरमाथाको शिखरमा पुगेका हुन् ।
आज बिहानैबाट सुरु भएको आरोहणमा अहिले सम्म झण्डै डेढ सय आरोही शिखरमा पुगेका पर्यटन विभागको सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। आज आरोहणका लागि दुई सयभन्दा धेरै आरोही गएका छन् ।
त्यसमध्येमा डेढ सय जति शिखरमा पुगेको जानकारी प्राप्त भएको छ । कोही अझै जाँदै पनि छन् । कतिपयको जानकारी सङ्कलन गर्न बाँकी रहेको छ’ श्रेष्ठले भने । शिखरमा पुग्नका लागि कम्तीमा साढे दुई सय आरोहीहरु गएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए ।
गएको वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको बसन्त ऋतुको आरोहण सुरु भएको छ । वैशाख २८ र २९ गते गरी झण्डै एक सय ७० जना आरोही सगरमाथा शिखरमा पुगेका थिए । त्यसपछि मौसम खराबीले रोकिएको आरोहण आजबाट फेरि सुरु भएको छ ।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय आठ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिएका भन्दा उनीहरुका सहयोगी धेरै हुने भएकाले यो वर्ष सगरमाथा आरोहणका लागि साढे आठ सयभन्दा धेरैको तयारी रहेको छ ।
यसैबीच तीन जना भारतीय नागरिक सहित ७ जना आरोही ल्होत्से हिमालको शिखरमा पुगेका हुन् । सात जनाले आठ हजार पाँच सय १६ मिटर अग्लो हिमाल आरोहण गरेका सेभेन समिट ट्रेक प्रालिका अध्यक्ष मिङ्गमा शेर्पाले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।