काठमाडौं । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।
महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनी बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार वर्षेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।
बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले उक्त खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उहाँका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकिएको छ । खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाउने छन् ।
बालबालिकालाई खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खुवाइने गरिन्छ । खोपको मात्रा १/५ मिलिलिटर हुन्छ । “एक बालबालिकालाई वर्षको दुईदेखि तीन पटक पखाला लाग्ने गरेको छ”, उहाँले भन्नुभयो, “पखालले गर्दा बच्चाको शरीरमा भएको पानी सकिन्छ (जलवियोजन) जसले गर्दा बच्चाको मृत्यु नै हुन्छ । त्यसैले पखाला रोक्न खोप दिइन थालेको हो ।” अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट उक्त खोपको शुरुवात गरिने शाखाका प्रमुख डा. गौतमले बताउनुभयो । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ । रासस
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।