काठमाडौँ, पछिल्लो समय खानपान र बदलिँदो जीवनशैलीका कारण कोलेस्ट्रोलको समस्या धेरैमा देखिन थालेको छ। कोलेस्ट्रोल बढेपछि धेरैको प्रश्न हुन्छ—के खाने र के नखाने ?
रगतमा पाइने बोसोयुक्त पदार्थ अर्थात् लिपिडको मात्रा अस्वाभाविक रूपमा बढ्दा उच्च कोलेस्ट्रोल हुन्छ । अत्यधिक चिल्लो तथा अस्वस्थकर खानेकुरा, धूम्रपान, मदिरा सेवन र मोटोपनाले शरीरमा खराब कोलेस्ट्रोल बढाउन सक्छ ।
रगतमा खराब कोलेस्ट्रोल अर्थात् एलडीएलको मात्रा बढेर धमनीमा जम्मा हुँदा रक्तनली साँघुरो वा अवरुद्ध हुन सक्छ। यसले रक्तप्रवाहमा बाधा पुर्याउनुका साथै हृदयघात र मस्तिष्कघातको जोखिम बढाउन सक्छ।
त्यसैले कोलेस्ट्रोल नियन्त्रणका लागि खानपान र जीवनशैलीमा ध्यान दिन आवश्यक हुन्छ ।
कोलेस्ट्रोल बढ्दा के खाने ?
कोलेस्ट्रोल उच्च भएका व्यक्तिले म्याकरेल र साल्मनजस्ता माछा खान सक्नेछन् । यस्ता माछामा ओमेगा–३ फ्याटी एसिड, प्रोटिनलगायत पोषक तत्व पाइन्छ ।
त्यसैगरी जैतुनको तेल, तोरीको तेल, ब्राउन राइस, होलग्रेन ब्रेड, होलह्विट पास्ता, बदाम, ओखर, गेडागुडी, बियाँ, ताजा फलफूल र हरिया तरकारीलाई खानामा समावेश गर्न सकिन्छ ।
यी खानेकुरा भने कम गर्नुपर्छ
कोलेस्ट्रोल उच्च भएको अवस्थामा रातो मासु वा बोसोयुक्त मासु, मख्खन, क्रिम, चिजकेक, बिस्कुट तथा कुकीजजस्ता खानेकुरा कम गर्नुपर्छ ।
त्यस्तै, ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट बढी भएका खानेकुराबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ। नरिवलको तेल र पाम तेलको अत्यधिक प्रयोगबाट पनि बच्नुपर्छ।
खानासँगै व्यायाम पनि
कोलेस्ट्रोल नियन्त्रणका लागि खानपानमा मात्रै होइन, शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्छ । हरेक हप्ता कम्तीमा १५० मिनेट मध्यमस्तरको व्यायाम वा ७५ मिनेट तीव्र व्यायाम गर्न सकिन्छ ।
छिटो हिँड्ने, जगिङ गर्ने, पौडी खेल्ने वा साइकल चलाउनेजस्ता गतिविधि नियमित गर्न सकिन्छ ।
धूम्रपान र मदिराबाट टाढा
धूम्रपानले खराब कोलेस्ट्रोल बढाउन र राम्रो कोलेस्ट्रोल घटाउन सक्छ । यसले हृदयघात तथा स्ट्रोकको जोखिमसमेत बढाउँछ। त्यसैले धूम्रपान त्याग्नुका साथै अत्यधिक मदिरा सेवनबाट पनि बच्नुपर्छ ।
कोलेस्ट्रोल बढेको कसरी थाहा हुन्छ?
उच्च कोलेस्ट्रोलको प्रायः कुनै स्पष्ट बाहिरी लक्षण देखिँदैन । त्यसैले रगत परीक्षण अर्थात् लिपिड प्रोफाइल टेस्ट गरेर मात्रै यसको स्तर पत्ता लगाउन सकिन्छ ।
मोटोपन भएका, परिवारमा उच्च कोलेस्ट्रोल वा मुटुसम्बन्धी रोगको इतिहास भएका तथा जोखिममा रहेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार नियमित परीक्षण गराउनु उपयुक्त हुन्छ ।
कोलेस्ट्रोल उच्च देखिएमा खानपान र जीवनशैलीमा परिवर्तनसँगै आवश्यक परे चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।