काठमाडौं, विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।
गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेसँगै नेपाली आकाशमा विदेशी एयरलाइन्सले इन्टरनेट तथा मोबाइल फोनको प्रयोग गर्न पाउने भएका हुन् । प्राधिकरणले विदेशी वायुसेवा कम्पनीले माग गरेमा दश हजार फिट उचाइमा उक्त सेवा प्रयोगको अनुमति दिनसक्ने निर्णय गरेसँगै नेपाली आकाशमा दूरसञ्चार सुविधा पाउन सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट अनुमति प्राप्त एयरलाइन्सले उक्त सुविधा पाउनेछन् । आइकाओको अनुमतिको आधारमा प्राधिकरणले उक्त सेवा उपलब्ध गराउन अनुमति दिनेछ । दश हजार फिटभन्दा कम उचाइमा इन्टरनेट सेवा सञ्चालनको अनुमति दिँदा नेपालभित्रको फ्रिक्वेन्सीमा अवरोध हुनसक्ने अनुमान गर्दै उक्त सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा ३ विदेशी वायुसेवा कम्पनीले आकाशमा इन्टरनेट सेवा सञ्चालनका लागि आवेदन दिएका थिए । विदेशी कम्पनीको माग (आवेदन) का आधारमा प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका निकायसँग छलफल गरी बोर्ड बैठकबाट सेवा सञ्चालनको अनुमति दिने निर्णय गरेको हो ।
यसअघि भारत र अफगानिस्तानले दश हजार फिटभन्दा माथिको आकाशमा इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । उक्त दुई देशपछि आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउने दक्षिण एशियाकै तेस्रो देश नेपाल बनेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।