शान्ता आचार्य
नेपालको ऐतिहासिक धरोहरका रुपमा रहेको भक्तपुर दरबारले विश्वका सम्पूर्ण मानिसहरुलाई आकर्षित गर्दै आइरहेको छ । भक्तपुर दरबार ऐतिहासिक रुपमा मात्र नभई धार्मिक, साँस्कृतिक प्राचीन शिल्पकला एवं हस्तकलाको लागि पनि परिचित छ । मल्लकालीन समयमा मल्ल राजाहरुको शासनको एक मुख्य केन्द्रको रुपमा रहेको यो क्षेत्रले नेपालको ऐतिहासिक विविध पाटा र नेपालमा विद्यमान प्राचीन परम्पराको प्रतिनिधित्व गर्दछ ।
राजधानी काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा अवस्थित यो क्षेत्र प्राचीन वास्तुकलाका पारखीहरुका लागि मनमोहक ठाउँ भएकोमा दुइमत छैन । अनेकौं धार्मिक, साँस्कृतिक , ऐतिहासिक विशेषताले सुुसज्जित यस सुन्दर नगरी हाल खुल्ला संग्रहालयको रुपमा रहेको छ । प्राचीन हिन्दु धर्मलाई प्रतिनिधित्व गर्ने थुप्रै मठमन्दिरहरु यस क्षेत्रमा रहनु यहाँको अर्को महत्वपूर्ण विशेषता हो । पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलुजा भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका, बाघको प्रतिमा सहितको ढोका लगायतका विविध प्राचीन धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक हिसाबले अत्यन्त महत्वपूर्ण तथा आश्चर्यपूर्ण कला कृतिहरुको विशाल भण्डार भक्तपुर दरबार क्षेत्र हिन्दू धर्मसंस्कृतिको खुल्ला संग्रहालय पनि हो भन्न सकिन्छ ।
विश्व सम्पदा सूचीमा समावेश यस क्षेत्र नेपालको प्रमुख पर्यटकीय केन्द्र पनि हो । राजा भूपतिन्द्र मल्लको समयमा निर्मित ५५ झ्याले दरबार यहाँको आकर्षणको मुख्य केन्द्रविन्दुको रुपमा रहेको छ । मयूरको आकृति दिएर बनाइएको यो दरबार नेवारी वास्तुकलाको अनुपम उदाहरण हो जुन नेपाल बाहेक अरु कुनै पनि देशमा देख्न पाइदैन, पर्यटकको रोजाइमा पर्ने गर्छ । हाल राष्ट्रिय संग्रहालयमा परिणत यो दरबारमा स्वदेशी विदेशी पर्यटक तथा आगन्तुकलाई आकर्षित गर्ने गरी विभिन्न चित्रकला, थाङ्का, ऐतिहासिक पाण्डुलिपिहरु, मण्डला आदि लाई सुरक्षित गरेर राखिएको छ । दरबार प्रवेश गर्ने द्वारमा राखिएका बाघका दुई विशाल प्रतिमाले दरबारको रक्षा गरिराखेको जनविश्वास रहेको छ ।

भक्तपुर दरबार क्षेत्र भित्र नै पर्ने न्यातापोल मन्दिर अर्को चिरपरिचित ऐतिहासिक धरोहर हो । प्रत्येक वर्ष दशैंको समयमा मात्र खुल्ने यस मन्दिरलाई देवी सिद्धलक्ष्मीको प्रतीक मानिन्छ । मन्दिरको निर्माण सक्न तीन पुस्ता लागेको भनिने यस मन्दिरलाई ५ वटा तला रहेकोले पञ्चतले मन्दिर भनेर चिनिन्छ । यस क्षेत्रमा प्रसिद्ध भैरवनाथ मन्दिर पनि रहेको छ । ऐतिहासिक यस नगरीमा शिव भगवान प्रकट भएको किंवदन्ती रहेको छ । भादगाउँका राजाले आफ्नो सपनामा पशुपतिनाथलाई देखेपछि सानो पशुपतिनाथका नामले मन्दिर स्थापना गरी शिब भगवानलाई यही पूज्न थालिएको स्थानीयहरु बताउँछन । अनगिन्ती मन्दिर र देवीदेवताका कलात्मक मूर्तिहरु र यिनमा निहित आफ्नै किसिमका विशिष्ट मान्यताहरुले प्राचीन नेपाली हिन्दू धर्म संस्कृति र वास्तुकलाको अनुपम संगमलाई उजागर गर्छ । मूल सडक क्षेत्रबाट टाढा भएकाले यो क्षेत्र प्रदूषण रहित हुनुले यहाँको वातावरणलाई सुन्दर, शान्त र मनमोहक बनाएको छ । ठूलो क्षेत्रफलमा फैलिएको भएर पनि होला धेरै मानिसहरुको उपस्थिति रहँदा पनि असर नपरेको जस्तो देखिन्छ । प्राचीन वास्तुकला तथा हस्तकलाका बारेमा ज्ञान लिन चाहने स्वदेशी तथा विदेशी जो कोही अध्ययन अनुसन्धानकर्ताहरुका लागि भक्तपुर दरबार क्षेत्र मुख्य रोजाइको केन्द्र बन्ने गरको छ ।विशिष्ट, मौलिक र पृथक किसिमका परिदृश्यहरुले सम्पूर्ण आगन्तुकको मन लोभ्याउँछ । विशेषतः प्राचीन नेपाली कला सस्कृतिलाई नजिकबाट नियाल्न चाहने विदेशी पर्यटकहरुका लागि कोषेढुङ्गा बनेर रहेको छ । नेपाली पर्यटकलाई कुनै शुल्क तिर्नुनपर्ने यहाँ विदेशीहरुका लागि भने प्रवेश शुल्क लिएर दरबार क्षेत्र प्रवेश गर्न अनुमति दिने व्यवस्था गरिएको छ ।

विं.सं. १९९० को भूकम्पबाट क्षतिग्रस्त बन्न पुगको दरबार क्षेत्रमा त्यसअघि ९९ वटा आँगन र ३ छुट्टाछुट्टै समूहका मन्दिरहरु रहेका थिए । त्यसको ठिक ८२ वर्ष पछी विं.सं. २०७२ को भूकम्पबाट पुनः क्षत्विक्षत् बन्न पुगेको दरबार परिसरमा यसबाट मन्दिरका छानाहरु र वत्सला देवीको मन्दिर ध्वस्त हुन पुग्यो । भूकम्पबाट रुग्ण बन्न पुगेको यहाँका संरचनाहरुलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्ने कार्य भइरहेको छ भने कतिपय संरचना निर्माण कार्य सम्पन्न भइसकेका छन् भने कतिपय निर्माणाधीन अवस्थामा रहेका छन । विभिन्न किसिमका अवरोधहरुले समयमै निर्माण सामाग्रीको आपूर्ति हुन नसक्नु र पहिले जस्तै कलात्मक स्वरुपमा काठ तथा मूर्तिमा बुट्टा भर्न सक्ने कुशल कलाकार पर्याप्त उपलब्ध हुन नसक्नुले पुनर्निर्माण छिटो सक्नमा कठिनाई देखिएको सरोकारवालाहरु बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।