मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

बच्चाको आमालाई हौसला चाहिन्छ,तुलना होइन

बच्चाको आमालाई हौसला चाहिन्छ,तुलना होइन

युर्बसि पाैड्याल

३१, जेठ २०८३
  • 565
    SHARES

  • बच्चाको आमालाई हौसला चाहिन्छ,तुलना होइन

    विवाहपछि सन्तान प्राप्तिको यात्रामा हरेक महिलाको अनुभव एउटै हुँदैन। कसैले सहज रूपमा बच्चा पाउँछन् भने कसैले वर्षौंसम्म अस्पताल धाउनुपर्छ,अनेक परीक्षण,औषधि,इन्जेक्सन, शल्यक्रिया, तनाव र अनिश्चितताको सामना गर्नुपर्छ। उच्च रक्तचाप, मधुमेह, इन्फेक्सन, हर्मोनको समस्या, पोषणको कमी लगायतका अनेक स्वास्थ्य समस्यासँग जुध्दै अन्ततः बच्चा जन्माउनु आफैंमा ठूलो संघर्ष र साहसको विषय हो।

    तर दुःखको कुरा, बच्चा जन्मिएपछि पनि केही आमाहरूले आराम र हौसलाको सट्टा तुलना र आलोचना सुन्नुपर्छ। “बच्चा त कति सानो रहेछ”, “हाम्रो त बच्चा धेरै ठूलो थियो”, “मलाई त केही खानै पर्दैनथ्यो, दुध आफैं आउँथ्यो”, “फलानोलाई पनि यस्तै रोग लागेको थियो” जस्ता शब्दहरूले नयाँ आमाको मनमा थप चिन्ता, डर र आत्मग्लानि पैदा गर्न सक्छन्।

    प्रसूति पछिको समय आमाका लागि शारीरिक र मानसिक रूपमा अत्यन्त संवेदनशील अवस्था हो। शरीर कमजोर हुन्छ, निद्रा पुग्दैन, बच्चाको हेरचाहको चिन्ता हुन्छ, दुध कम आएको जस्तो लाग्न सक्छ, र मनोवैज्ञानिक रूपमा पनि उनी धेरै दबाबमा हुन सक्छिन्। यस्तो अवस्थामा तुलना, नकारात्मक अनुभव सुनाउने वा अनावश्यक टिप्पणी गर्ने कुरा सहयोग होइन, थप पीडा हो।

    हामीले बुझ्नुपर्छ कि हरेक बच्चा फरक हुन्छ, हरेक आमाको शरीर फरक हुन्छ, र हरेक परिवारको यात्रा फरक हुन्छ। बच्चा सानो वा ठूलो हुनु मात्र स्वास्थ्यको मापन होइन। यदि चिकित्सकले बच्चा र आमा दुवै ठीक छन् भन्नुभएको छ भने त्यसलाई सम्मान गर्नुपर्छ।

    त्यसैले नवजात शिशु र आमालाई भेट्न जाँदा आलोचना होइन, हौसला लिएर जाऔँ। “तपाईंले धेरै ठूलो संघर्ष गर्नुभयो”, “आमा र बच्चा दुवै स्वस्थ रहून्”, “केही सहयोग चाहियो भने भन्नुहोस्” जस्ता शब्दहरूले आमाको मन बलियो बनाउँछन्।

    कहिलेकाहीँ एक मिठो शब्द औषधिभन्दा पनि शक्तिशाली हुन्छ। नयाँ आमालाई तुलना होइन, माया, सम्मान र साथको आवश्यकता हुन्छ। हामी सबैले त्यही दिन सिक्नुपर्छ।

    आइतवार, जेठ ३१ २०८३०५:३०:४३
    सम्बन्धित समाचार