ईन्द्र थेगिम
“बेलायत आएर कमाउन थालेको वर्षौं बितिसक्दा पनि आफ्नो कमाइले मन परेको एक जोर राम्रो लुगा पनि किन्न नसकिने रहेछ !"
कफी ब्रेकमा,सहकर्मीहरूसँग ठट्टाकै शैलीमा तर मन निचोरेर यो तितो यथार्थ पोखें । मेरो कुरा सुनेर साथीहरू एक अर्कालाई हेराहेर गर्न थाले । सँगै ब्रेक लिइरहेकी स्पेनीस् साथी अलि अचम्म मान्दै बोलिन्— "ओहो इन्डी ! तिम्रो कुरा सुन्दा त सडकमै पुगि सकेको जस्तो सुनियो । तिम्लाई 'भिन्टेड' को बारेमा केहि थाहा छैन र ? यो मैले लगाएको बर्बरी ज्याकेट हेर त कस्तो लाग्छ ?"
साँच्चै भन्नुपर्दा,उनको त्यो पफर ज्याकेट मलाई निकै मन परेको थियो,तर ब्राण्डेड नाम देखेपछि महँगो होला भन्ने ठानेर मैले सोध्ने हिम्मतै गरेको थिइनँ ।
उनि बोली नसक्दै अर्की पोलिस् साथीले थपिन्— " गत वर्ष मात्रै म बिहानै बाटोमा हिंडरहेको बेला सडकको छेउमा एउटा पुरुषको ज्याकेट फालिएको अवस्थामा भेटें। यसो वरपर पल्याक पुलुक हेरें,ब्राण्डेड जस्तो लागेर मैले त्यो ज्याकेट घर ल्याएर हेरेको त ‘बेलेन्सियागा’ को डेनिम ज्याकेट पो रहेछ । मख्ख परेर धोईपखाली,सुकाएर चिटिक्क पारी प्याक गरें अनि ‘भिन्टेड’ मा सिपिङ गरेको त ३५० मा बिक्री भयो ।
यो सुनेर मेरा दुवै आँखाहरू खुल्लाको खुल्लै भए । मैले अचम्म मान्दै सोधें— "के यो साँच्चै हो र ? युरोपियन मान्छेहरू यसरी पनि सपिङ गर्छन् र यहाँ ?" मेरो कुरा सुनेर सबै गलल हाँस्न थाले ।
त्यही बेला छेउमै रहेकी अर्की आइरिस् साथी ले आफुले लगाईराखेको गुलाबी रंगको ट्रेनर देखाउँदै भनिन्— "पढ त इन्डी,यो कुन ब्रान्डको हो ? यो ‘होक्का’ जुत्ता मैले भर्खरै गएको हप्ता एकदमै सस्तो मूल्यमा किनेकी हुँ । अब अरू कुरा धेरै नसुन, खुरुक्क 'भिन्टेड' एप डाउनलोड गर र आफूलाई मनपर्ने ब्रान्डेड सामानहरू रोज्न थाले । युरोपमा बसेर सडकमै छु भन्ने यस्ता सोचहरू त अहिलेदेखि नै मनबाट हटाई देउ ।”
घर फर्किएपछि चिया पिउंदै सोफामा पल्टिएर फेसबुकमा अल्मलिरहेको बेला,अर्को कोठाबाट छोरी नयाँ कालो पफर ज्याकेट लगाएर मेरो अगाडि एक फन्का मारी । "ओहो छोरी ! कस्तो राम्रो सुहाएको, कहाँबाट किन्यौ ?" मैले दङ्ग पर्दै सोधें । उनका चिम्सा आंखाहरु अझ चिम्सो बनाएर पिरिपिरि पार्दै बोलिन् "ईट्स हलिस्टर ब्राण्ड फ्रम् भिन्टेड,मम् !”
दिनभरि अफिसमा साथीहरूबाट भिन्टेड को महिमा सुनेको म,घर पुग्दा छोरीको मुखबाट पनि त्यहीँ सुने पछि सपिङ नगर्ने कुरै भएन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।