बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बन्दाबन्दी र बालबालिका

बन्दाबन्दी र बालबालिका

  • 5.2K
    SHARES

  • बन्दाबन्दी र बालबालिका

    डिसेम्बर २०१९ अन्त्यतिर चीनको हुआन प्रान्तबाट शुरुभएको कोभिड–१९को महामारीका कारण सिङ्गो मानव जगत नै आक्रान्त छ । विश्वका महाशक्ति राष्ट्र अमेरिकादेखि स्वास्थ्य सेवाका दृष्टिमा विश्वकै उत्कृष्ट र नमुना मानिएका इटाली, स्पेन लगायतका युरोपियन देशहरुले समेत कोरोना महामारीलाई जित्न नसकिरहेको अवस्था देखिन्छ । कोभिड–१९को महामारीका कारण हालसम्म विश्वभर करिब ७० लाख मानिस संक्रमित भइसकेका छन् भने झण्डै चार लाखको मृत्यु भइसकेको अवस्था छ । समग्र विश्व एवं मानवजातिको चुनौतीको रुपमा खडा भएको कोभिड विरुद्ध लड्न संसारभर एकमात्र उत्तम विकल्पको रूपमा लकडाउनलाई आत्मसात गरिएको छ । यतिबेला विश्वका करिब सात खर्ब जनसंख्या कोरोना महामारीका कारण लकडाउनमा छन् । कोरोना महामारीको कारण लामो समयदेखि संसारको आर्थिक, सामाजिक गतिविधी ठप्प प्रायः छ । यसै सन्दर्भमा नेपालमा पनि कोरोना महामारीले तीव्र रूप लिएको छ । हालसम्म नेपालमा करिब ३००० जना भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १३ जनाको मृत्यु भइसकेको छ । नेपालमा संक्रमण तीव्रगतिमा फैलँदो क्रममा छ । यसकारण कोरोना जोखिमबाट बच्न विगत ७५ दिनदेखि नेपाल सरकारले लकडाउन गर्दै आएको छ । यसकारण जनजीवन घर र कोठाभित्र सीमित भएका छन् भने लकडाउन अझै लम्बिन सक्ने सम्भावना देखिन्छ ।

    लामो लकडाउनको कारण सर्बसाधारणको दैनिकी कष्टकर बन्दै गएको देखिन्छ । यसरी लामो बन्दाबन्दीका कारण कतिपय मानिसहरुमा नैराश्यता र डिप्रेसनको समस्या समेत देखिन थालेको समाचारहरु आएका छन् । बन्दाबन्दीका कारण मानिसहरुका दिनचर्या निरास पट्यारलाग्दो तथा शारीरिक एवं मानसिक दृष्टिकोणले प्रतिकुल बन्दै गरेको देखिन्छ भने सामाजिक, आर्थिक कोणबाट त झनै जनजीवन जर्जर नै भइसकेको छ । यस्तो विषम परिस्थितिमा कलिला अबोध बालबालिकाको मनमस्तिष्कमा कस्तो मनोवैज्ञानिक प्रभाव परिरहेको छ त ? बन्दाबन्दीका कारण लामो समयदेखि बालबालिकाहरु समेत सिमित कोठा र घरका चौघेराभित्र सीमित हुन पुगेका छन् भने उनीहरूको शैक्षिक गतिविधि सुचारु हुन सकेको छैन । यसर्थ बालबालिकाको अवस्था झनै संबेदनसिल छ ।

    कस्तो छ त बालबालिकाको दैनिकी?

    आम नेपाली अभिभावकको बुझाइ छ –बालबालिकालाई आफ्नो काबुमा राखेर, त्रास देखाएर नै नियन्त्रणमा राख्न सकिन्छ वा यसरी नै बालबालिका उम्दा हुन्छन् र उनीहरूको सफलताको कडी नै अनुशासन नामको त्रासदी हो । यो बुझाइ समग्रतामा बलियो रुपमा देखिन्छ भने यदाकदा केही अभिभावकहरू बालबालिकाका भावनासँगै उनीहरूलाई पर्याप्त समय दिएर उच्च महत्वका साथ उनीहरुकै रुचि, इच्छा, चाहना अनुसार स्वतन्त्र छाडिदिनुपर्छ भन्ने मान्यताका पनि हुनुहुन्छ तर यो संख्या नगन्य मात्रामा छ । लकडाउनका बेला मात्र होइन सामान्य अवस्थामा समेत बालबालिकाको दैनिकी मोबाइल र टिभी संगको साक्षात्कार मै बढी सिमित भएको पाइन्छ । प्राय बालबालिकाले एक्लो भएको महसुस अहिलेको व्यस्त जीवनशैलीका कारण सिर्जना भएको छ । अहिले बन्दाबन्दीका कारण विद्यालय अवरुद्ध छ अभिभावकहरुले आफ्नो सहजताका लागि र आफै समेत बन्दाबन्दीको असहज जीवन व्यतीत गरिरहनुपरेको कारण बालबालिकाहरुलाई आफ्नो सजिलोकोलागि समेत मोबाइल वा टीभीमा झुलाई दिनुभएको हुनसक्छ । यो उपाय निरस जीवन दैनिकी व्यथित गरिएका अभिभावकहरुकालागि सहज त होला तर सँगसँगै यसकारण बालबालिकाहरुमा दूरगामी मानसिक प्रभाव पर्ने निश्चितप्राय छ । बालबालिकाहरू आफैंमा जिज्ञासु र चञ्चल स्वभावका हुन्छन् उनीहरु स्वतन्त्रता चाहन्छन् आफ्ना अभिभावकको साथ सहयोग माया ममता चाहन्छन् उनीहरु एक्लोपनबाट उन्मुक्ति चाहन्छन् बालबालिकाहरूको स्वच्छन्दता यस्तो हुन्छ कि उनीहरु खुला आकाशमा मुक्त पन्छी झैं उड्न चाहन्छन । हो, यही मर्मलाई अभिभावकहरूले बुझ्नुपर्ने हुन्छ । विशेषगरी लामो समय सीमित घेरामा बन्दाबन्दीको दैनिकी व्यथित गरिरहेका अवस्थामा विशेषगरी बालबालिकाहरूका निम्ति पर्याप्त समय दिन जरुरी छ ।

    लामो बन्दाबन्दीका कारण विशेषगरी सहरी र अर्धशहरी क्षेत्रका बालबालिकाहरु सांघुरिएका छन् । उनीहरूको शारीरिक, मानसिक स्वास्थ्य बाल मनोविज्ञानको प्रतिकुल बन्दै गइरहेको छ । यसअवधिमा बालबालिकाहरूको सिर्जनात्मक तथा रचनात्मक क्रियाकलापहरु खुम्चिएका छन् । यसले उनीहरूको कलिलो मनमस्तिष्कमा दूरगामी प्रभाव पारेको देखिन्छ । यतिबेला मोबाइल, टिभि बालबालिकाहरूका साथी भनेका छन् उनीहरु स्वतन्त्रतापूर्वक प्रकृतिसँग गाँसिन पाएका छैनन् । हरेक क्रियाकलापमा जिज्ञासा र सिर्जनात्मकता खोज्ने बालबालिकामा अहिले एक किसिमको निराशाको बादल छाएको छ । यसर्थ बालबालिकालाई बन्दाबन्दीमा पनि उनीहरूको दैनिकीलाई सहज आफ्नो अनुकुल र सिर्जनात्मक बनाउन अभिभावकहरूको विशेष भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाको स्वभाव नै चञ्चल हुन्छ, यो उनीहरूको नैसर्गिक रुप हो, यसलाई प्रौढहरुले कहिल्यै दबाउनु हुँदैन, फल्न फुल्न दिनुपर्छ । हरेक बालबालिकाको मानसीक, शारीरिक, संवेगात्मक र सिर्जनात्मक विकासकालागि उनीहरूको इच्छा, चाहना रुचि अनुसारका गतिविधिमा संलग्न गराई दिनु पर्दछ यसैबाट बालबालिकाको सर्वाङ्गीण विकासमा ठूलो सहयोग पुग्छ । यो बालमनोविज्ञानको अध्ययनबाट पुष्टि भएको दर्शन हो ।

    कसरी टिकाउने बालबालिका ?

    खासगरी ग्रामीण भेगमा रहेका र शहरी भागबाट बन्दाबन्दीका कारण ग्रामीण भेगमा रहेका बालबालिकाका निम्ति खासै ठूलो समस्या देखिँदैन । उनीहरुलाई अहिले एउटा अवसर प्राप्त भएको छ । प्रकृतिलाई चिन्ने प्रकृतिसँग साक्षात्कार गर्ने किताबका चित्रमा मात्र देखेका गाई र भैसीको जात छुट्याउने, कोदो र मकैको जात छुट्याउने, गहुं र जौ छुट्टाउने, हलो र कोदालो चिन्ने, बनमारा र तितेपाती छुट्टाउने, अनि आफ्नो माटो चिन्ने एउटा सुनौलो अवसर प्राप्त भएको छ । ग्रामीण भेगमा रहेका बालबालिकालाई अभिभावकहरुले आफ्ना दैनिक क्रियाकलापहरू, कृषि कर्महरु, प्राकृतिक कर्महरु, सँगै बालबालिकालाई व्यस्त गराउन सकिन्छ ।

    त्यस्तै बालबालिकालाई प्रकृति र माटोसँग प्रविधिसँग जोडिदिने बालबालिका र अभिभावकहरु दुवैका लागि एउटा महत्वपूर्ण अवसर हो ताकि बालबालिकाहरुले आफ्ना माटो चिनुन । उत्पादनलाई बुझुन्, श्रमलाई नजिकबाट नियालुन अनि प्रकृति र आफ्नो माटोलाई माया गरून् । कलिलो बालमस्तिष्कमा प्रकृति संरक्षण गर्नुपर्छ भन्ने धारणाको बिकास गराउन सके हाम्रा भावी सन्तानले हाम्रो माटो, हाम्रो प्रकृति, हाम्रो कृषि, हाम्रो श्रम को सम्मान र संरक्षण गर्न सिक्नेछन् । मेहनेती र स्वाभिमानी बन्न सिक्नेछन् बस यति गराइदिए पुग्छ । अहिले ग्रामीण भेगमा रहेका बालबालिकाहरुकालागि बन्दाबन्दीले एउटा सुनौलो अवसर दिएको छ माटो चिन्ने अवसर दिएको छ श्रम चिन्ने अवसर दिएको छ प्रकृति चिन्ने अवसर दिएको छ यस्तो अवसर फेरि आउदैन यो बालबालिकाहरूको लागि सुवर्ण अवसर हो । यसमा अभिभावकको सहकार्य र साथ आवश्यक छ ।

    अब प्रश्न रह्यो शहरी क्षेत्रका र अर्धशहरी क्षेत्रका बालबालिकाहरूका दैनिकीलाई कसरी सहजीकरण गर्न सकिन्छ । शहरी क्षेत्रमा रहेका बालबालिकाहरू प्रकृति देखि टाढा जमिन माटो देखि टाढा सिमित कोठा घरहरुमा खुम्चिएका छन् सबैभन्दा ठूलो समस्या सहरी र अर्धशहरी क्षेत्रमा बन्दाबन्दीमा रहेका बालबालिकाहरूको मानसिक र शारीरिक स्वास्थ्यमा देखिन्छ तर हामीले कोठाभित्रै र घरभित्रै पनि बालबालिकाहरुलाई विभिन्न सृजनात्मक रचनात्मक क्रियाकलापहरू मार्फत स्फूर्त राख्न सक्छौं । यसकालागि अभिभावकको इच्छा शक्ति, पूर्ण साथ सहयोग भने आवश्यक छ । यसका लागि एउटा सर्त भने अनिवार्य छ, बालबालिकाहरुसँग झर्को नमान्ने, यदि तपाई झर्को मान्नुहुन्छ भने उनीहरूका कुनै योगदान गर्न सक्नुहुन्न ।

    के गर्ने त ?

    सामान्यतया दैनिक रुटिनबाट बालबालिकाको र आफ्नो दैनिकीलाई सहज बनाउन सकिन्छ । तपाईंले कति समय बालबालिकासँग बस्ने, कति समय इन्टरनेट र टिभी सँग बस्ने, कति समय पारिवारीक भलाकुसारीकालागि दिने कति समय पारिवारीक मनोरञ्जनलाई दिने र कति समय आफ्ना वैयक्तिक कार्य र सिर्जनात्मक रचनात्मक क्रियाकलापलाई दिने भन्ने छुट्याउनुपर्छ । तपाईंले बालबालिकाहरुलाई आफू पनि बालबालिका नै बनेर समय छुट्याउनु भयो भने उनीहरुले आफ्नो साथी भटेको महसुस गर्नेछन् । दिनमा कम्तीमा चार घण्टा बालबालिकाहरूकालागि समय छुट्याउनुहोस् र निम्न क्रियाकलाप मार्फत उपयुक्त समयलाई खर्च गर्नुहोस । यसबाट तपाईं र तपाईंको बालबालिका मानसिक शारीरिक रूपमा स्वस्थ र उर्जाशिल हुनेछन् । कोठाभित्र र घरभित्र सिमित रहेका बालबालिकाहरुका लागि दैनिक १२घण्टा उनीहरुले जानेका र कोठाभित्रै वा घरभित्रै खेल्न सकिने विभिन्न खेलहरुमा साथ दिएर उनीहरुसँगै खेलेर व्यथित गर्न सकिन्छ । खेल भनेपछी बालबालिका हुरुक्कै हुन्छन् यसर्थ प्रशस्त खेलाउनु पर्दछ । यसैगरि बालबालिकासंग बसेर कथा कविता वाचन तथा श्रवण गर्ने गराउने लगायतका साङ्गीतिक क्रियाकलाप, अन्ताक्षरी, गायन, नृत्य लगायतका गतिविधि मार्फत बालबालिकालाई स्फूर्त राख्न सकिन्छ । त्यस्तै बालबालिकाहरुलाई बगैंचा वा छतमा रहेका तरकारी खेती फुलको बोट बिरुवासंग साक्षात्कार गराउन र उत्पादनसँग जोडिन, बोटबिरुवा र प्रकृतिसँग जोडिन दिनुहोस् । उनीहरु आफैँलाई काम गर्न दिनुहोस् कोठाभित्र नै सिमित छन् भने भान्साको काममा सघाउन वा उनीहरूको उमेर क्षमता अनुसारको काममा व्यस्त बनाउनु उपयुक्त हुन्छ । सम्भब भएमा फूलका गमला लगायतका प्राकृतिक पक्षसँगको साक्षात्कार व्यक्तिगत सरसफाई, आफ्नो कोठा आफ्नो ओछ्यानको सजावट र सफाइ कोठाको सामानको सजावट, सम्बन्धी क्रियाकलापमा व्यस्त गराउनुहोस् यसबाट पनि बालबालिकाको भावी जीवनयापनमा सहयोग पुर्याउंछ । त्यस्तै अर्को चरणमा बालबालिकाहरुलाई आवश्यक सामग्रीहरु उपलब्ध गराइदिने र आफु पनि सँगसँगै बसेर उनीहरुका सिर्जनात्मक सिपहरु फुल्ने फल्ने अवसर प्रदान गरिदिने जस्तै चित्रकला, हस्तकला, काष्ठकला, ओरिगामी कला, कोलाज, मोज्याक जस्ता कलाहरु उनीहरुलाई खेल्न फुल्न दिनुस तर सँगसँगै तपाइको साथ सहयोग पनि नितान्त आवश्यक छ । त्यसैगरी बालबालिकालाई कोठा, घर, आँगन, छत बाहिर देखिने खुला प्रकृतिसँग साक्षात्कार गराइदिनुस् । माटो, हावापानी, आकाश, पृथ्वी, सूर्य चन्द्रमा लगायतका प्रकृतिसँग जोडिदिनुस तपाई पनि संगसंगै जोडिनुस् बालबालिकाहरू अवश्य खुसी हुनेछन र स्वस्थ, स्फुर्त हुनेछन् ।

    तपाई हामी अभिभावकहरूलेव यो बुझ्न जरुरी छ कि बालबालिकाको मनोभावनामा आच पुर्याउने, ठेस लाग्ने, क्रियाकलाप कदापि गर्नु हुँदैन बालबालिकाका हरेक क्रियाकलापमा तपाईंले सँगसँगै साथी बनेर साथ र सहयोग दिनुपर्छ यो तपाईं हाम्रो कर्तव्य हो । बालबालिकाहरू सदैव मायाका भोका हुन्छन् । उनीहरुले प्रोत्साहन चाहिरहेका हुन्छन् । यसर्थ बालबालिकालाई पर्याप्त समय, माया, ममता साथसहयोग मार्फत बन्दाबन्दीमा पनि उर्जाशील राख्न तपाईको भूमिका महत्वपूर्ण छ । अर्को चरणमा बालबालिकाहरुलाई व्यस्त राख्न खुसी राख्न र उनीहरूको शारीरिक मानसिक अवस्थालाई चलायमान बनाउन दैनिक १, २ घण्टा पठनपाठनका निम्ति पनि समय छुट्याउनुपर्छ । यसका निम्ति पनि तपाइको साथ र सहयोग अनिवार्य छ तपाईं स्वयं छेवैमा बसेर उनीहरूको पठनपाठनमा सहजीकरण गरी दिनुपर्दछ यसरी बालबालिकाहरुलाई बन्दाबन्दीमा समेत पठनपाठन कार्यक्रमा संलग्न गराउन सकिन्छ तर यसलाई दबाबमूलक भने कदापि बनाउनुहुँदैन । अब अर्को चरणमा मात्र तपाईंले बालबालिकाहरुलाई मोबाईलमा बस्न दिन उपयुक्त हुन्छ किनभने मोबाइल र टिभी मात्र जोतिने प्रवृत्तिले बालबालिकालाई एडिक त बनाउँछ नै सँगसँगै उनीहरूको मानसिक शारीरिक स्वास्थ्यलाई सखाप पार्छ । यसर्थ १, २ घण्टा आफ्नो प्रत्यक्ष निगरानीमा मोबाईल र टिभीमा बालबालिकाहरुलाई जोड्न सकिन्छ । यसमा सिमितता भने अवस्य हुनुपर्दछ । लामो समय आफ्नो सहजताको लागि मोबाइल र टिभीमा बालबालिकालाई छाडी दिनु भनेको उनीहरूका निम्ति भयंकर घातक हुन्छ । यसरी तपाईं हामी प्रौढ व्यक्तित्व र बालबालिकाको अभिभावकको नाताले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य विकासका निम्ति उनीहरूको स्वतन्त्रताको निम्ति र उनीहरूको नैसर्गिक अधिकार, रुचि, चाहना, इच्छा र उनीहरूको सुनौलो भविष्यका निम्ति अभिभावकका नाताले सन्तुलित रुपमा बालबालिकाको दैनिकीमा प्रत्यक्ष साथ र सहयोग दिनुभयो भने विषम परिस्थितिमा बालमनोविज्ञानमा परेको नकारात्मक प्रभावलाई अवश्य न्युनिकरण गर्न सकिन्छ । भने बालबालिकालाई उनीहरुको दिनचर्यालाई सरल, रुचिपूर्ण, सिर्जनात्मक, रचनात्मक र सहज बनाउन सकिन्छ । यसबाट बालबालिकामा रहेका महामारीको त्रास, नैराश्यताबाट समेत उन्मुक्ति दिन सकिन्छ भने तपाईं, हामीले दिनको २, ४ घण्टा बालबालिकाका निम्ति किन समर्पित नगर्ने ?

    शनिवार, जेठ २४ २०७७०८:३८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार