आर्थिक वर्ष २०७७।७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम बन्द हुने भएको छ । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन्। ।
निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले भोलि शुक्रबारदेखि पोलिसी नै स्थगन गर्न बिमा समितिमा प्रस्ताव गरिएको र बिमा समितिले पनि यसमा सहमति जनाइ सकेको जानकारी दिए । नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड (१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन्। । जस बापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । पोलिसी स्थगित भए पनि यस अघि बिमा भइसकेकाहरुको भने जोखिम वहन कम्पनीहरुले गर्ने उनले बताए । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।
सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ । बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन । प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए ।
हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।