काठमाडौं । सरकारले विदेशमा अलपत्र कामदारलाई १० दिनभित्र फिर्ता ल्याउने गरी गृहकार्य थालेको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परेका कामदारलाई फर्काउने निर्णय गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवका अनुसार सरकारले खाडी मुलुकसहित रोजगारीको शिलशिलामा मलेसियामा रहेका नेपाली कामदार फर्काउने तयारी गरेको छ । शुरुवातमा नेपाल फर्काइने कामदारहरुमा गर्भवती, अपांग भएका व्यक्ति, बिरामी परेका, भिसा सकिएका र रोजगारी गुमेका कामदार हुनेछन् ।
त्यस्तै विदेशबाट फर्केका कामदारलाई स्थानीय निकायका क्वारेन्टाइनमा राखिने सरकारको योजना छ । कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायण बिडारीका अनुसार नेपाल फर्किने कामदारलाई केही समय ट्रान्जिटका लागि राजधानीको चक्रपथका सातवटा स्थानमा होल्डिङ सेन्टर निर्माण गरेर राखिनेछ ।
विदेशबाट फर्काइने कामदारका लागि हवाईजहाजको व्यवस्था पर्यटन मन्त्रालयले गर्ने तथा बसको व्यवस्था परराष्ट्र मन्त्रालय र यातायात विभाग र ट्राफिक महाशाखाले गर्ने भएका हुन । प्रदेशदेखि स्थानीय तहसम्म पुग्न भने स्थानीय सरकारले यातायातको व्यवस्था गर्नुपर्ने समितिले निर्णय गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।