फाईल तस्बिर
नयाँदिल्ली । भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।
‘१ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको छ,’ मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ । आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।
नेपालमा खपत हुने प्याजको ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका कारण प्याजमा भारतले लिने नीतिले नेपालको बजार पनि प्रत्यक्ष प्रभावित हुने गरेको छ । नेपालमा भारतबाट मात्र वार्षिक ३ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ । त्यही कारण भारतको निर्यातमा रोक निर्णयले नेपालमा पनि प्याजको भाउ अकासिएको थियो । दसैंतिहारजस्ता प्रमुख चाड नजिकिँदै गर्दा भारतले निर्यातमा रोक लगाउँदा आम नेपाली उपभोक्ता समस्यामा परेका थिए ।
खुला सीमा भएका कारण निर्यातमा रोक लाग्दा चोरी पैठारीसमेत बढ्ने गरेको छ । यसले आम उपभोक्तालाई भन्दा पनि बिचौलियाहरूलाई बढी फाइदा पुग्ने गरेको देखिन्छ । भारतमा हरेक वर्ष भदौ–असोजमा प्याज अभाव हुने गरेको छ । भारतमा प्याजको माग र आपूर्तिबीच असन्तुलन कात्तिकको अन्त्यसम्म चल्छ ।
नयाँ बाली आएपछि प्याजको आपूर्ति सहज भई बजार भाउ घट्ने गरेको छ । यस वर्षजस्तै प्याजको संकट गत वर्ष पनि देखिएको थियो । त्यति बेला पनि मोदी सरकारले निर्यातमा रोक लगाएको थियो । आपूर्तिमा कमी आएका कारण गत वर्ष भारतका केही भागमा प्याजको मूल्य डेढ सय भारुसम्म पुगेको थियो । दिल्ली सरकारले त आमउपभोक्तालाई लक्ष्य गर्दै प्याज बिक्रीका लागि सुपथ मूल्यको अभियान नै सञ्चालनमा ल्याएको थियो । आपूर्ति सहज भएपछि करिब ६ महिनापछि मात्र निर्यात खुला गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।