काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ ‘एप’ निर्माण गरेको छ ।
काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट बुधबार (आज) एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकले उक्त एप सार्वजनिक गरेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माका अनुार, सार्वजनिक गर्ने कार्यक्रममा इजरायल, बेल्जियम, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलेण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलेण्ड, भारत, चीन, रोमानिया र माल्टालगायतमा रहेको काँग्रेस जनसम्पर्क समितिका सभापति र संयोजकले भाग लिएका थिए।
‘रेस्क्यु नेपाली’ नामको सो एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण सङ्कलन गर्ने रहेको छ । साथै एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्याङक सङ्कलन गर्नेछ ।
एपले सङ्कलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने लक्ष्य राखेको उनले बताए। एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ ।
एपमार्फत व्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा व्यक्तिगत या पारिवारिक योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्रलगायत विषयका विवरण सङ्कलन गरिने काँग्रेसले जनाएको छ ।
विश्वव्यापी रूपमा गरिने तथ्याङ्क र विवरणको एक साताको सङ्कलनपश्चात् उद्धार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए ।
सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपालका पूर्वमहासचिव दिपेश विष्ट नेतृत्वमा शशाङ्क श्री न्यौपाने, अशोक श्रेष्ठ, नारायण जोशी र अमित सोनार सम्मिलित टिमले सो एप निर्माण गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।