कोरोना भाइरसको संक्रमणले आमा गुमाएर धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनको शिशु शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए। उनको पहिलो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको थियो। तर जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गर्न योग्य रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।शिशुलाई थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ। साथै क्वारेन्टिनबाट घर जानुअघि पनि आरडिटी परीक्षण गर्न र त्यसमा पोजेटिभ देखिए फेरि पिसिआर गर्ने अस्पतालले जनाएको छ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।त्यसपछि नवजात शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो। परिवारका अन्य सदस्यको पनि कोरोना नेगेटिभ देखिएको छ। उनीहरूलाई पनि आजै डिस्चार्ज गरिएको छ।
गत वैशाख २४ गते महिलाले काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।