काठमाडौं । रुसको संसद्को तल्लो सदन डुमाले एक विधेयक पारित गरेको छ, जसका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनका परिवारमाथि उनी राष्ट्रपटिबाट हटेपछि पनि कुनै किसिमको आपराधिक मुद्दा चलाउन मिल्दैन ।
यसअघि गत जुलाईमा रुसमा संवैधानिक संशोधनका लागि जनमतसंग्रह भएको थियो । अहिले तल्लो सदनले पारित गरेको विधेयक सोही संशोधनको एक हिस्सा हो । रुसका दुवै सदनमा पुटिनका समर्थकको बहुमत छ । पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदैछ । तर, अहिले गरिएको संशोधनअनुसार सन् २०२४ पछि पनि उनी दुई कार्यकाल अर्थात् १२ वर्ष राष्ट्रपतिको रुपमा पदमा कायम रहन सक्नेछन् ।
सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष पदमा रहँदै आएका छन् । पुटिनका आलोचक एलेक्सी नाभाल्नीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पुटिनलाई अहिले बचाव विधेयकको आवश्यकता नै नरहेको बताएका छन् । साथै उनले अर्को ट्वीटमा लेखेका छन्, ‘के तानाशाहले आफूले चाहेको बेला पद छाड्न सक्छन् ?’
डूमामा तीनपटक यो विधेयक ल्याउनुपर्ने हुन्छ । मंगलबार पहिलोपटक यसलाई पारित गरिएको हो । सदनमा पुटिनको समर्थक पार्टी युनाइटेड रसिया पार्टीको बहुमत छ । तर, वामपन्थी सांसदको ३७ भोट यो विधेयकको विरुद्धमा परेको छ । तीनपटक डुमामा छलफल भएपछि यो विधेयक माथिल्लो सदनमा जानेछ । यो विधेयकमा अन्तिम अनुमोदन भने स्वयं पुटिनबाट हुनेछ ।
यो विधेयक आएसँगै पूर्व राष्ट्रपति र उनका परिवार कुनै पनि किसिमको प्रहरीको सोधपुछबाट बाहिर हुनेछन् । साथै उनीहरुको सम्पत्ति कब्जा गर्न सकिँने छैन । अहिलेको अवस्थामा रुसमा पूर्वराष्ट्रपति दामित्री मेदभेदेभ मात्र जीवित छन् । उनी पुटिनका सहयोगी हुन् । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।