शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

कागको चिरबिरसँगै सुरु भयो तिहार,आज यमदूतका रूपमा कागको पूजा

कागको चिरबिरसँगै सुरु भयो तिहार,आज यमदूतका रूपमा कागको पूजा

मेगा खबर संवाददाता

२२, कार्तिक २०८३
  • 223
    SHARES

  • कागको चिरबिरसँगै सुरु भयो तिहार,आज यमदूतका रूपमा कागको पूजा

    काठमाडौं, यमराजका दूत मानिने कागलाई पूजा गरेर आज आइतबार काग तिहार मनाइँदैछ। यमपञ्चकको पहिलो दिनका रूपमा मनाइने काग तिहारसँगै नेपालीको दोस्रो ठूलो पर्व तिहार औपचारिक रूपमा सुरु भएको छ ।

    धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ। त्यसैले आज बिहानै घरको छत, आँगन वा खुला ठाउँमा कागका लागि खानेकुरा राखेर पूजा गर्ने परम्परा छ। विशेषगरी दहीभात तथा मिठा परिकार कागलाई खुवाउने चलन छ।

    कागले सन्देश ल्याउने र लैजाने विश्वास नेपाली समाजमा अझै प्रचलित छ। काग कराउँदा पाहुना आउने वा कुनै खबर प्राप्त हुने संकेतका रूपमा समेत लिने गरिन्छ ।

    वैदिक सनातन परम्परामा कागलाई यमराजको दूत मान्दै पूजा गर्दा मृत्यु र संकटबाट रक्षा हुने धार्मिक विश्वास छ। कागलाई खानेकुरा अर्पण गर्दै ‘यमदण्डरूपी संकटबाट मुक्ति दिलाऊ’ भनी प्रार्थना गर्ने चलन रहेको छ।

    धर्मशास्त्रअनुसार यमराजले पृथ्वीमा रहेका मानिस तथा सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्यु को विवरण राख्ने गर्छन्। उक्त विवरण आदानप्रदान गर्ने जिम्मेवारी कागले पाएको धार्मिक जनविश्वास छ। आकाशमार्गबाट छिटो सन्देश पुर्‍याउन सक्ने भएकाले कागलाई यमराजको दूत मानिएको जनश्रुति छ ।

    काग तिहार केवल धार्मिक आस्थामा मात्र सीमित छैन। यसले मानिस र चराचुरुंगीबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा सबै जीवप्रतिको सहअस्तित्वको सन्देशसमेत दिन्छ ।

    आजैदेखि पाँच दिनसम्म मनाइने यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, गोरु र भाइटीकाको विशेष महत्त्व रहन्छ। यस अवसरमा कागेश्वरी मनोहरा महादेव मन्दिर तथा हनुमानढोका क्षेत्रस्थित कागेश्वरी मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।

    तिहारको पहिलो दिन कागलाई सम्मानपूर्वक पूजा गरी खानेकुरा खुवाएर यमपञ्चकको स्वागत गर्ने परम्परा रहिआएको छ।

    शनिवार, कार्तिक २२ २०८३०७:२९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार