काठमाडौं, लगातारको वर्षा र बाढीपहिरोका कारण चीनसँग जोडिएका नेपालका तीनवटै प्रमुख व्यापारिक नाका बन्द भएका छन् । दसैं आउन दुई साता मात्रै बाँकी रहँदा तातोपानी, रसुवागढी र कोरला नाका ठप्प भएपछि चीनबाट हुने स्थलमार्गको आपूर्ति प्रभावित भएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सामान आयात भएको छ। तर, नाका जोड्ने सडक र पूर्वाधारमा क्षति पुगेपछि अहिले ठूलो परिमाणको सामान बाटोमै रोकिएको छ ।
पहिरोको जोखिमका कारण तातोपानी नाका यसअघि नै बन्द थियो। भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढीका संरचना ध्वस्त बनाएपछि यो नाका पनि बन्द भयो । त्यसपछि व्यापारको विकल्प बनेको कोरला नाका कालीगण्डकीमा आएको बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको हो ।
भदौ १० देखि २५ गतेसम्म मात्रै कोरला नाकाबाट ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए । भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो ।
व्यवसायीका अनुसार दसैंका लागि चीनबाट मगाइएका सामानमध्ये काठमाडौंमा २० देखि ३० प्रतिशत मात्रै आइपुगेका छन् । सडक र ढुवानी समस्या कायमै रहे सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म बढ्न सक्ने उनीहरूको भनाइ छ ।
मुस्ताङ भन्सारका अनुसार अहिले डेढ सयभन्दा बढी मालवाहक गाडी तथा कन्टेनर रोकिएका छन्। यार्ड र नाकामा गरी ३ देखि ४ सय विद्युतीय सवारी तथा खाली–भरिएका कन्टेनरसमेत थन्किएका छन् ।
सडक विभागले अवरुद्ध सडक खुलाउन काम गरिरहेको छ । तर, दसैंको मुखमा तीनवटै नाका बन्द हुँदा व्यापार र बजारको आपूर्ति व्यवस्थामै ठूलो दबाब परेको व्यवसायीहरूले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।