काठमाडौँ, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको असर तल्लो तटीय जिल्लासम्म फैलिएको छ । बाढीमा परी हालसम्म ७३४ जनाको शव फेला परेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।
बाढीको तीव्र बहावसँगै शवहरू विभिन्न तल्लो तटीय जिल्लासम्म पुगेका छन् । सबैभन्दा धेरै चितवनमा २५९ जनाको शव फेला परेको छ ।
यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ ।
२ हजार ४९८ जना अझै सम्पर्कविहीन
बाढी र त्यसपछिको विपद्मा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना छन् । जसमा नेपाली सेनाका ४५,नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना रहेका छन् ।
यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी पनि छन् ।
स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएका छन् ।
उद्धारमा झण्डै २० हजार सुरक्षाकर्मी परिचालित
विपद्पछि खोज तथा उद्धारका लागि देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उद्धार अभियानका क्रममा हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशी र त्यससँग जोडिएका नदीमा आएको बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि सुरक्षा निकायले बेपत्ताको खोजी र उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।