काठमाडौँ, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई सरकारले हेलिकप्टरमार्फत काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार गराइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उपत्यकाका १३ वटा अस्पतालमा बाढी प्रभावितको उपचार भइरहेको छ । नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी, वीर, नर्भिक, मनमैजु शुभम्, ग्राण्डी, हेम्स, प्रसूति गृह र एपीएफ अस्पतालमा उपचार भइरहेको हो ।
यसैबीच, रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सुरुङको मुखतर्फ २० फिटभन्दा बढी भाग खनिसकिएको छ ।
उत्खननको प्रगति अपेक्षाकृत राम्रो रहेकाले शनिबार दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरिएको छ । सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली निरन्तर खटिएको छ ।
बाढीबाट प्रभावित अन्य जलविद्युत् आयोजना तथा संरचनामा पनि खोज तथा उद्धारको काम भइरहेको छ । यसैबीच, सुरुङ उद्धारमा प्राविधिक सहयोगका लागि चीनबाट सुरुङसम्बन्धी विज्ञका दुई टोली नेपाल आउने तयारीमा छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।