काठमाडौं, पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रबिराज बराल प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यका रूपमा नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन् ।
विभिन्न सञ्चारमाध्यममा काम गर्नुका साथै आफूले स्थापना गरेको मिडिया कुराकानीमार्फत पत्रकारिताका सकारात्मक पक्षको प्रशंसा र आवश्यक ठाउँमा आलोचना गर्दै आएका बरालले अब पत्रकारितालाई फरक भूमिकाबाट अघि बढाउने बताएका छन् ।
बरालले नैतिक,जिम्मेवार र मर्यादित पत्रकारिता तथा प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ जिम्मेवारीका लागि शुभकामना दिने सबैप्रति आभार व्यक्त गर्दै उनले आफूलाई विश्वास गर्नेहरूलाई निराश नपार्ने गरी काम गर्ने बताएका छन् ।
प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ नेतृत्वको टिमसँग सहकार्य गर्दै आम मिडिया उपभोक्ताका गुनासा,सुझाव तथा आलोचनात्मक प्रतिक्रियालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकतामध्ये एक रहेको बरालको भनाइ छ ।
“नैतिक तथा जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रताको पक्षमा कार्य गर्न म सक्दो प्रयास गर्नेछु । शुभकामना दिनुहुने सबैलाई धन्यवाद । तपाईंहरूलाई निराश नपार्न म सक्दो प्रयास गर्नेछु,” बरालले भनेका छन् ।
पत्रकारिताको आलोचक र समर्थक दुवै भूमिकाबाट अघि बढेका बरालका लागि प्रेस काउन्सिलको नयाँ जिम्मेवारी भने पत्रकारिता, सञ्चारमाध्यम र आम मिडिया उपभोक्ताबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ ।