सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको बस दुर्घटनापछि कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएको घटनालाई लिएर पीडित परिवार र स्थानीयले मध्यपहाडी राजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलबार बिहानदेखि खुर्कोट–घुर्मी सडकखण्डमा रुख, ढुंगा तथा टायर बालेर सडक अवरुद्ध गरिएको हो । प्रदर्शनकारीले दुर्घटनामा संलग्न बस चालकलाई कडा कारबाही, बेपत्ताहरूको खोज तथा उद्धारमा तीव्रता, पीडित परिवारलाई उचित क्षतिपूर्ति र बसधनी तथा यातायात समितिलाई वार्तामा उपस्थित गराउन माग गरेका छन् ।
सोमबार दिउँसो काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो । ठक्करपछि कार सुनकोसी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र तिनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलम्पाकी मगर रहेका छन् । दिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनाका ठेकेदार तथा जुगल गाउँपालिका–७ का पूर्व वडाध्यक्षसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार नदीमा पानीको बहाव उच्च रहे पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयवासी र आफन्तहरूको सहभागितामा खोज तथा उद्धार कार्य मंगलबार बिहानदेखि पुनः तीव्र पारिएको छ । यद्यपि समाचार तयार पार्दासम्म बेपत्ताहरूको अवस्था खुल्न सकेको छैन ।
प्रहरीले दुर्घटनामा संलग्न बसका चालक २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।