चितवन, भरतपुर अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेपछि शय्या अभाव भएको छ । पर्याप्त बेड नहुँदा सुत्केरी हुन प्रतीक्षारत गर्भवतीलाई भुइँमा ‘म्याट्रेस’ राखेर सेवा दिनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हरेक वर्ष असारको दोस्रो सातादेखि भदौसम्म प्रसूति सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा बढ्ने गर्छ। हाल अस्पतालमा प्रसूतिसम्बन्धी कुल १११ शय्या रहेका छन्, जसमा शल्यक्रियापछिको ‘पोष्टअप’,गाइने, जटिल गाइने, ‘पोष्टनेटल’, प्रसूति भर्ना, ‘वेटिङ’, एक्टिभ’, ‘लेबर’ तथा ‘बर्थिङ युनिट’का शय्या समावेश छन् ।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहप्राध्यापक डा। रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनासम्मको प्रसूति हुने गरेको छ। प्रसूति प्रक्रिया सुरु भएपछि बिरामीलाई शय्यामै राखेर उपचार गरिए पनि पालो कुर्नुपर्ने गर्भवतीलाई भने ‘म्याट्रेस’मा राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
चितवनसहित आसपासका जिल्लाका सेवाग्राहीको पहिलो रोजाइ भरतपुर अस्पताल नै हुने गरेको छ । अनुभवी चिकित्सक, दक्ष नर्सिङ टोली, बाल सघन उपचार कक्ष (एनआईसीयू) तथा अन्य सुविधाका कारण यहाँ प्रसूति गराउनेको संख्या धेरै हुने गरेको अस्पतालको भनाइ छ ।
डा.सापकोटाका अनुसार अन्य समयमा शय्या व्यवस्थापन सहज भए पनि यो मौसममा चाप अत्यधिक हुने भएकाले सबैलाई तत्काल बेड उपलब्ध गराउन कठिन हुने गरेको छ ।
उनले असोज–कात्तिकमा पर्ने दसैँ–तिहारका बेला घर फर्किएका दम्पतीबीच गर्भ बसेकाहरूको प्रसूति यही अवधिमा पर्ने भएकाले असारदेखि भदौसम्म सेवाग्राहीको संख्या बढ्ने गरेको अनुमान गरे ।
हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र २९ जना प्रसूति सेवामा तालिमप्राप्त नर्सिङ कर्मचारी कार्यरत छन्। साथै २० शय्याको बाल सघन उपचार कक्ष (एनआईसीयू),चार शय्याको ‘कङ्गारु मदर केयर’ र पाँच शय्याको ‘बर्थिङ युनिट’ सञ्चालनमा छन्। दक्ष नर्स र मिडवाइफको उपस्थितिका कारण भरतपुर अस्पताललाई प्रसूति सेवाका लागि विश्वासिलो अस्पतालका रूपमा लिने गरिएको छ ।
अस्पतालका अनुसार गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले प्रसूति सेवा लिएका थिए। तीमध्ये चार हजार २३५ जनाको सामान्य प्रसूति, तीन हजार ५४० जनाको शल्यक्रियामार्फत (सिजेरियन) प्रसूति तथा ७० जनाको ‘भ्याकुम’ वा ‘फोर्सेप’ प्रयोग गरी प्रसूति गराइएको थियो ।
अघिल्लो आर्थिक वर्षमा भने आठ हजार ४२० जनाले प्रसूति सेवा लिएका थिए । तीमध्ये चार हजार ४०८ जनाको सामान्य प्रसूति, तीन हजार ८२५ जनाको शल्यक्रिया र १८७ जनाको उपकरणको सहायताले प्रसूति गराइएको थियो। जटिल प्रकृतिका बिरामी बढी आउने भएकाले अस्पतालमा शल्यक्रियामार्फत हुने प्रसूतिको प्रतिशत करिब ४५ प्रतिशत हाराहारीमा रहेको डा. सापकोटाले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।