काठमाडौं,अमेरिका र इरानबीच चर्किएको सैन्य तनावले विश्वव्यापी तेल प्रशोधन (रिफाइनिङ) उद्योगको पुनरुत्थानमा गम्भीर असर पर्ने संकेत देखिएको छ। विशेषगरी एसियाली रिफाइनरीहरूले अगस्टदेखि उत्पादन बढाउने योजना बनाएका बेला पश्चिम एसियामा बढ्दो अस्थिरताले कच्चा तेलको आपूर्ति अनिश्चित बनेको छ ।
विश्लेषकहरूका अनुसार यसले पेट्रोल, डिजेल र हवाई इन्धनको विश्वव्यापी आपूर्ति लामो समयसम्म सीमित रहन सक्ने तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च रहने सम्भावना बढाएको छ ।
रोयटर्सका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले तेस्रो त्रैमासिकमा विश्वभर दैनिक ८ करोड १६ लाख ब्यारेल तेल प्रशोधन हुने अनुमान गरेको थियो, जुन दोस्रो त्रैमासको तुलनामा चार प्रतिशतभन्दा बढी वृद्धि हो । तर अमेरिका–इरान तनावले उक्त अनुमानलाई चुनौती दिएको छ ।
युद्धअघि विश्वमा खपत हुने करिब २० प्रतिशत कच्चा तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्थ्यो । अमेरिकी आक्रमण र इरानी प्रतिक्रियापछि उक्त समुद्री मार्गबाट हुने ढुवानीमा अवरोध उत्पन्न भएको छ, जसले विशेषगरी एसियाली रिफाइनरीहरूको आपूर्तिमा असर पुर्याएको छ ।
यता इरान समर्थित हुथी विद्रोहीहरूले बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुने साउदी अरबको तेल निर्यात अवरुद्ध गर्ने चेतावनी दिएका छन् । ऊर्जा अनुसन्धान संस्था एनर्जी एस्पेक्ट्सका अनुसार यसबाट दैनिक ३० लाख ब्यारेलभन्दा बढी साउदी कच्चा तेलको ढुवानी प्रभावित हुन सक्छ ।
चीन र भारततर्फ जाँदै गरेका साउदी कच्चा तेल बोकेका केही ट्यांकरले मार्ग परिवर्तन गरेको घटनाले आपूर्ति जोखिम बढेको देखाएको छ । यदि अवस्था लम्बियो भने जहाजहरूले अफ्रिका घुमेर यात्रा गर्नुपर्ने भएकाले ढुवानी समय करिब एक महिना थपिन सक्छ ।
यसैबीच, युक्रेनी ड्रोन आक्रमणपछि रूसले डिजेल निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा डिजेल, पेट्रोल र जेट इन्धनको आपूर्ति थप सीमित हुने जोखिम बढेको छ । विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव र रूसको निर्यात प्रतिबन्धले विश्व ऊर्जा बजारमा दोहोरो दबाब सिर्जना गरेको छ ।
स्पार्टा कमोडिटिजका विश्लेषक निल क्रस्बीका अनुसार हाल विश्वसँग पर्याप्त अतिरिक्त प्रशोधन क्षमता छैन । स्ट्रेट अफ होर्मुजमा अवरोध र रूसको निर्यात प्रतिबन्ध एकैसाथ प्रभावकारी हुँदा आपूर्ति सहज बनाउन कठिन हुने र माग नियन्त्रणका लागि मूल्य अझै बढ्न सक्ने अवस्था देखिएको उनले बताएका छन्।
युद्धअघि एसियामा डिजेल र जेट इन्धन प्रशोधनबाट हुने नाफा प्रतिव्यारेल करिब २० अमेरिकी डलर थियो । अहिले त्यो बढेर ६५ डलरभन्दा माथि पुगेको छ । युरोपमा डिजेल प्रशोधनको नाफा ६६.२५ डलर प्रतिव्यारेल पुगेको छ भने अमेरिका र युरोपका अधिकांश रिफाइनरीहरू पूर्ण क्षमतानजिक सञ्चालन भइरहेका छन् ।
यद्यपि उत्पादन थप विस्तार गर्ने पर्याप्त क्षमता उनीहरूसँग छैन । अमेरिकी विश्लेषकहरूका अनुसार अहिले रिफाइनरीहरूले पेट्रोलभन्दा डिजेल उत्पादनमा बढी जोड दिएका छन्, किनकि त्यसबाट उच्च नाफा भइरहेको छ ।
यसबीच चीनलाई सम्भावित राहतका रूपमा हेरिएको छ। अन्य एसियाली रिफाइनरीहरू ९३–९५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेका बेला चीनका रिफाइनरीहरू जुन महिनामा करिब ५८ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका थिए । ठूलो परिमाणमा कच्चा तेल मौज्दात रहेकाले चीनसँग उत्पादन उल्लेखनीय रूपमा बढाउने क्षमता रहेको विश्लेषण गरिएको छ ।
वुड म्याकेन्जीका अनुसार चीनको दैनिक तेल प्रशोधन क्षमता अगस्टमा करिब १ करोड ३९ लाख ६० हजार ब्यारेल पुग्न सक्छ, जुन जुन महिनाको १ करोड २६ लाख ३० हजार ब्यारेल भन्दा उल्लेखनीय रूपमा बढी हो ।
यद्यपि चीनले उत्पादन बढाएर विश्व बजारमा देखिएको इन्धन अभाव कति हदसम्म पूर्ति गर्न सक्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। विश्लेषकहरूका अनुसार आगामी महिनामा बेइजिङको निर्यात नीतिले विश्व ऊर्जा बजारको दिशा निर्धारण गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।