काठमाडौँ, घरजग्गा कारोबारबाट आर्थिक वर्ष २०८२८३ को असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो उक्त आर्थिक वर्षकै सबैभन्दा धेरै मासिक राजस्व सङ्कलन हो ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व सङ्कलन भएको थियो, जुन आर्थिक वर्षको दोस्रो उच्च मासिक सङ्कलन हो ।
महिनागत विवरण अनुसार साउनमा रु ३ अर्ब २८ करोड ९१ लाख, भदौमा रु ३ अर्ब १४ करोड ७ लाख, असोजमा रु २ अर्ब ७५ करोड ८५ लाख र कात्तिकमा रु २ अर्ब ७४ करोड ५१ लाख राजस्व सङ्कलन भएको थियो ।
त्यसपछि मङ्सिरमा रु ४ अर्ब ८४ करोड ८१ लाख, पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख, माघमा रु ५ अर्ब ९९ लाख, फागुनमा रु ४ अर्ब १४ करोड ९५ लाख, चैतमा रु ६ अर्ब १६ करोड ५७ लाख, वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख र जेठमा रु ५ अर्ब २४ करोड ४२ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार असार महिनामा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेपछि राजस्व सङ्कलन पनि उच्च भएको हो । सरकारले आर्थिक वर्ष २०८३८४ को बजेटमार्फत साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि गर्ने व्यवस्था गरेपछि कर बढ्नुअघि कारोबार सम्पन्न गर्ने प्रवृत्ति बढेको र त्यसकै प्रभाव असार महिनाको कारोबारमा देखिएको अनुमान गरिएको छ ।
विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट असार महिनामा भएको यो राजस्व सङ्कलन सबैभन्दा उच्च मानिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।