अंकरा । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो ।
तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार दिएका हुन् ।
उनले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरे । उनले त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको यहाँको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।
यहाँका दर्जनौ घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ । शुक्रबार नै अधिकारीहरुले धेरै मानिसहरू पुरिएको हुनसक्ने बताएका थिए । तर आइतबार भने मृत्यु हुनेको संख्या ४२ पुगेको जनाइएको हो । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।