काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समिति बैठकले किसानलाई मल अभाव हुन नदिन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको हो ।बैठकले स्थानीयस्तरमा रासायनिक मलको आवश्यकता अनुसार सहज र सर्वसुलभ उपलब्धता सुनिश्चितताका लागि स्थानीय तहमा रासायनिक मलको भण्डारण स्थल निर्माण गर्न निर्देशन दिएको छ ।
नेपालमा रासायनिक मलको सहज,सुलभ र गुणस्तरीय आपूर्ति तथा बिक्री वितरणको सुनिश्चितताका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको रासायनिक मलको आयातको कोटा वृद्धिको मागलाई ध्यान दिन निर्देशन दिएको समिति सभापति अब्दुल खानले बताए । रासायनिक मलको आयात तथा विक्री वितरणमा संलग्न संस्थाको क्षमता र आयात तथा बिक्री वितरणको हालको अवस्था विश्लेषणका आधारमा रासायनिक मलको कोटाको पुनरावलोकन गरी प्रतिशत निर्धारण गर्न उद्योग मन्त्रालय र कृषि मन्त्रालयलाई निर्देशन दिइएको सभापति खानले बताए । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमा नै मल प्रयोग गर्न नपाए उत्पादनमा समस्या हुने भएकाले किसानले चाहेकै समयमा मल उपलब्ध गराउन प्रयासरत रहेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।