काठमाडौँ, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो । निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।
उक्त विमानमा १० नेपालीसँगै केही अल्बानियाका नागरिक पनि आएका अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि उक्त विमान काठमाडौँ आएको हो । जनवरीमा ६ जना,फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएका थिए । यस अवधिमा तीन नेपालीलाई पानामा ‘डिपोर्ट’ गरिएको अमेरिकी प्रशासनले जनाएको छ ।
यसअघिका राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका प्रवेश गरेको अनुमान छ । तीमध्ये २ हजार ८ जना अहिले अमेरिकी प्रशासनको हिरासतमा छन् । पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।