काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरुपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखा सम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
अस्पतालले गत आर्थिक वर्ष २०७९÷८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले बताए ।
उक्त अस्पतालले उक्त आवमा सेवाग्राहीलाई रु एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवासमेत उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जना बिरामीको निःशुल्क आँखा परीक्षण,शल्यक्रिया र औषधि वितरण गरेको अध्यक्ष डा पोखरेलले जानकारी दिए ।
उक्त कार्यका लागि अस्पतालले रु २७ लाख २०० खर्च व्यहोर्नुपरेको थियो । अस्पतालले विद्यालय आँखा कार्यक्रम अन्तर्गत सो अवधिमा एक हजार ७२१ जना ग्रामीण समुदायका विद्यार्थीलाई पठन÷पाठनका लागि आवश्यक पर्ने चश्मा पनि निःशुल्क रुपमा उपलब्ध गराएको थियो । त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालले गत आवमा सिमरा र गोरखा जिल्लामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गराएको थियो ।
त्यस कार्यका लागि रु ५२ लाख ५६ हजार खर्च लागेको अस्पतालले जनाएको छ । उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम प्रशिक्षणसमेत प्रदान गरेको छ । गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा रु २९ लाख ९५ हजार मूल्य बराबरको सेवामा आर्थिक सहायता छुट प्रदान गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।