बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कविताः हाम्रो समाज

कविताः हाम्रो समाज

  • 1.2K
    SHARES

  • कविताः हाम्रो समाज

    मेघराज पौड्याल

    म मेरै कलामा सधैँ रम्न पाऊँ
    म नेपालको हीतमा चित्त लाऊँ
    विना बिघ्नबाधा फुलोस् देश मेरो
    निशा जुन्किरीले भगाऊँन् अँधरो ।।१।।

    सधैँ रम्य बाटो पुगोस् कन्दरामा
    म खाऊँ नखाऊँ चुठाऊँ बरामा
    न राजा न रैती सबै हुन् समान
    निरोगी सधैँ शुद्ध हून् खानपान ।।२।।

    पियारो गरौँ देशका शैललाई
    छ हामी सबैको त्यसैमा भलाई
    नदी ताल झर्छन् सधैँ छल्छलाई
    सुसेल्छन् सधैँ लोक भाका सुनाई ।।३।।

    यही सौम्य संगीतमा गीत गाऊँ
    उषा देशबासी सबैमा सुनाऊ
    कतै खैँजडीकासँगै हून् मृदङ्ग
    कलाबाट नै ब्यूँझियूँन् अङ्ग-अङ्ग ।।४।।

    कलाकारले देश छोडी नजाऊन्
    गएका सबै शीघ्र फर्केर आऊन्
    यही देशका सिर्जना गुन्गुनाऊन्
    सधैँ माहुरीझैँ यहीँ भुन्भुनाऊन् ।।५।।

    अनेकौँ सुधा फल्छ यो मृत्तिकामा
    उमारेर दिन्छिन् धरा नित्य आमा
    यहीँ देवका भक्त छन् साधनामा
    उषा लीन छन् तिव्र आराधनामा ।।६।।

    पखेरो र चट्टानले पूर्ण देश
    बनेली तरी माझ हाम्रो मधेस
    यहीँ चिर्बिराएर बस्छन् जुरेली
    सधैँ फुल्दछन् पुष्प बेली चमेली।।७।।

    निशा कोइली गीगमा गुन्गुनाई
    मिठो प्रेमको भावनामा रमाई
    पियारोछ आमा र यो देश मेरो
    हवेली र छाप्रो पियारो कटेरो।।८।।

    यहाँ कर्म गर्ने उभोँ जान सक्छन्
    दही दूध रोटी मिठो खान सक्छन्
    सुधा फल्छ यै मृत्तिकामा अनाज
    पराई बिनाको छ हाम्रो समाज।।९।।
    @ -हात्तीवने

    मंगलवार, माघ १६ २०८००१:४४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार