बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बुढ्यौलीका विषयमा के भन्नुहुन्छ त प्रतिभा निकुञ्जका कविहरू !

बुढ्यौलीका विषयमा के भन्नुहुन्छ त प्रतिभा निकुञ्जका कविहरू !

  • 1.5K
    SHARES

  • बुढ्यौलीका विषयमा के भन्नुहुन्छ त प्रतिभा निकुञ्जका कविहरू  !

    वसन्ततिलका छन्दः
    मतलाः
    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    छन्दचौतारीमा प्रेषणः राती ८ बजे
    संप्रेषकः श्री उत्तम विचार ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    पीडा असह्य मनभित्र छँदैछ किन्तु
    सोधे भने 'ठिक छ' भन्नु छ हालचाल ।।
    पत्नी समेत पर भाग्न तयार पर्छिन् 
    फुक्लेर दाँत जब तर्र चुहुन्छ राल ।।
    बाधा व्यथा विरह अग्नि समान पोल्छन्
    खङ्ग्रङ्ग सुक्छ अनि यो सब ज्यान डाल ।।
    सङ्कष्ट पर्दछ शरीर समेत धान्न
    सेतै भएर जब झर्छ सबै कपाल ।।
    आएर मृत्यु पनि लान्न टिपेर टप्प
    त्यो मृत्युकै पनि भएछ कि सुस्त चाल ।।
    संसार नाटक रहेछ सबै नियालेँ
    यो घानमा र घनचक्करमा नहाल ।।
    -होम सुवेदी ।

    हे ईश ! यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।
    हे शम्भुदेव जहिलै भुवनोपकारी !
    वार्धक्यको हरण गर्न यता नियाल ।
    छैनन् सहायक कुनै पनि छेउछाउ
    आऊ तिमी बस यहीँ घर यो सँभाल ।
    छौ व्याप्त पूर्ण हिउँमा जलकै समान
    होऊ तिमी भवनमन्दिरमा बहाल ।
    तिम्रो मिलेर करुणारस बैँस फर्की 
    खाऊँ म भोजन रुचेर कि थाल थाल ।
    -मुकुन्द शर्मा ।

    हे ईश ! यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल।
    घट्दै गएर तनमा बल साथसाथै 
    बढ्दै गयो हृदयको गति साल साल ।
    यो देहमा दिनदिनै सय रोग बढ्दा
    बन्दैछ नित्य सबको दयनीय हाल ।
    लौरो हुँदैछ पद चाल्न ठुलो सहारा
    आऊ प्रभो तिमिर यो मनको पखाल।
    यो जिन्दगी जति हिँड्यो उति हिँड्न गाह्रो
    ढुङ्गो समान दिल यो प्रभुजी पगाल ।
    -जीवन काश्यप ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।१
    मेरो शरीर छ तथापि म लासजस्तो
    मानौँ म हो जलधिको बलहीन छाल ।२
    होलान् फलाम कि त पत्थर शक्तिशाली 
    मस्तिष्क फुट्छ जुनले उही नै पगाल ।३
    चाहन्न बाँच्न पल एक मरी म जाऊँ
    यो प्राणनिम्ति करुणा र दया नपाल ।४
    ठन्डा छ माघ र म एकल हुन्छु नित्य
    तातो दिने रवि रुवा मकहाँ नफाल ।५
    - आत्मराम न्यौपाने ।

    हे ईश याे भुवनबाट उँभाे उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।
    भन्दै छ याे घर तँ जा वन जा भनेर
    हेपाइ देख्न नसकी वन भन्छ आ ल ।
    आफ्नै शरीर किन बाेझ भयाे अचाक्ली
    लात्ती चलाउँछ झिँगा अनि चाख्छ राल ।
    त्याे स्वर्गकाे पथ भयाे अब लिस्नु हाय
    आकाशका फल बने वनका चिमाल ।
    आफन्तका सकल आँगन दूर देश
    लाग्दै छ ती घरधुरी तलका हिमाल ।
    चल्दै छ नित्य जग बाल र वृद्ध बन्दै
    यस्ताे बुझाैँ दिन बिते सुरु भाे विकाल ।
    - चाेलेन्द्रप्रसाद दाहाल ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।
    घट्दै गयो स्मरणशक्ति छ जीर्ण देह
    जोड्दा पुगेँछु सयको महिना र साल ।
    छोरो कुबेततिर बस्छ कतार नाति
    को गर्छ यो बखतमा अब देखभाल ।
    भार्या भइन् अझ अशक्त रहेन होस
    यस्तो विदारक बन्यो घरभित्र हाल ।
    को दिन्छ फेरि अब औषधि निल्न पानी
    हेर्दैछ लाग्छ रमिता परबाट काल ।
    यो ताडना अब अझै सकिँदैन खप्न
    उन्मुक्ति मिल्दछ कहाँ प्रभु नै निकाल ।
    -इन्द्रनारायण सुवेदी ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।।
    टाढा भए सकल बान्धव दाजु-भाइ
    भन्छन् खुसुक्क घरबाट बुढो निकाल ।।
    गल्दै गयो हृदयको गति सुस्त-सुस्त
    त्यो आँगनी पर भयो सकिए कपाल ।।
    सम्पूर्ण बन्धनहरू खुकुला हुँदै छन्
    सङ्कष्ट यो हृदयको प्रभुले पखाल ।।
    मेघराज पौड्याल ।

    हे ईश ! यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।
    खोज्दा पुगेन मनमा सहयोग एक्लै 
    देख्दैछु आँशु भलमा नफसून् निकाल । 
    दन्किन्छ अग्नि कसरी भनिसाध्य यस्तो
    भुङ्रो छ देख्न सकिने नबुझौँ पराल ।
    भन्छन् सबै मनुजले सुखशान्ति भाग्यो
    पाका निराश जनमा मृदुभाव हाल।
    जप्दै अजामिल बनून् प्रभुता पुकारी
    मान्छे!अशक्त नभनी शुभकर्म थाल।।
    -रामचन्द्र घिमिरे ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    खुट्टा लुला हुनगए सुनिँदैन कान 
    हे ईश रुन्छ मन यो गर देखभाल ।।
    रुच्दैन खान सहजै मुख बाइँदैन 
    बाँच्ने कसो गरी भयो दयनीय हाल ।।
    -हरिप्रसाद न्याैपाने ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    साथीहरू जति थिए सब घट्न थाले
    माया समुद्र कि नदी कि त हुन्छ ताल ।।
    घाँडाे हुने समयकाे बलमा परेर
    याे देह लाग्दछ रुखाे खर वा पराल
    टीका भएन अब जीवन  दागजस्ताे
    ढल्दै छ देह पनि साँझ परेर छाल ।।
    -टीका आत्रेय ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    हेप्छन् सबै जन मिलीकन वृद्धलाई
    मर्छन् कुनै त अभिशप्त भई अकाल ।
    रोगादि पीडित भएर कुनै थलिन्छन्
    हे कृष्ण ती स्थविर दीनहरू समाल ।
    सुड्डो भने पनि बुढा सहजै सहन्छन्
    वृद्धादिको हृदय हुन्छ बडा विशाल ।
    हे हे युवा युवति हो गर है प्रणाम 
    वृद्धत्वको वचन बन्दछ सत्तिसाल ।
    -काेमलप्रसाद पाेखरेल ।

    हे ईश यो भुवनबाट उँभो  उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल  ।
    आफ्नाहरू पनि भएर अती आज टाढा
    सोध्दैन मानिस कुनै पनि बात हाल  ।
    बस्दैछ दैत्य मनमा मनुवाहरूको
    आएर यो अवनिको गर देखभाल ।
    -शान्ति सिग्देल ।

    हे ईश यो भुवनबाट उँभो उचाल 
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।।
    मेरो बिहाल बुझ झट्ट उठाइदेऊ 
    यो गर्तबाट सजिलै अब ता निकाल ।।
    हो रङ्गमञ्च जगमा जन नृत्य गर्ने 
    को बुझ्छ सृष्टि सजिलैसित यो विशाल ।।
    पाकेर केश शिरमा हिउँको छ बास 
    सामर्थ्यहीन बनिएँ अति सुस्त चाल ।।
    पाउन्न भेउ अहिले तन काँप्न थाल्छ 
    लठ्ठी बनेर गर पार नहान जाल ।।
    उम्रे सधैँ रहरका लहरा सजाई 
    बिर्सेँ म दास बनिएँ करदी समाल ।।
    मेरा सबै गलित छन् सब अङ्ग-अङ्ग 
    सङ्कष्टपूर्ण भव बन्धनमा नफाल ।।
    - हरिशरण खतिवडा ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।
    निद्रा र भोक सकियो न त लाग्छ तिर्खा 
    धिक्कार वृद्ध वयमा नमिठो छ चाल ।
    छोरा र नाति सबले अझ दिक्क मान्छन् 
    हेप्छन् सबै दिनदिनै नगरेर ख्याल ।
    दीर्घायु जीवन भयो अभिशाप जस्तो 
    बिर्सन्छ शीघ्र किन हो यम हान्न जाल ।
    यस्तो बिलाप यमले किन सुन्न छाड्यो
    हे मृत्युदेव अब ता यमपाश फाल ।
    -हृषीकेश बराल ।

    आगो भयो मन भने मनबाट फाल
    माया भए सफरमा नरहोस् सवाल ।
    तिम्रा समस्त सपना कहिल्यै नहारून् 
    जाओस् धरा पर सबै सहजै  कुचाल ।
    आजन्म प्रेमरथ होस् सुखको सवारी 
    आउन्न मृत्यु पनि ठान्छ ठुलाे कमाल ।।
    गाँसेर प्रेम कसिलो मनभित्र राख्नू
    आँखा जुधाउन समेत तिमी नथाल ।
    मेरा समस्त कविता मृदु राधिका हौ
    बाँकी सबै फजुल हुन् नव अन्तराल ।
    -स्पन्दन विनोद ।

    हे ईश ! यो भुवनबाट उँभो उचाल 
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल 
    छोरी र पुत्र घरबाट गएर खाडी 
    डाक्दैछु शीघ्र अब तान डटेर काल
    आँखा उघार्न मन हुन्न र हुन्छ दिक्क 
    लट्ठी सदैव छ सखे बलियो निदाल
    देहै खकार भरियो यस वृद्ध बेला
    देखेर भन्छ पर जा घिनकाे तँ ताल
    जाऊँ कता सकस आँगन बन्छ दूर 
    मात्रै सुदेव गर है अब देखभाल ।।    

     मेघनाथ `बन्धु´।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ॥
    ऊर्जा बचाउन सकूँ म सदा युवाझैँ
    सर्वेश! तन्तु तनका यसनिम्ति ढाल ॥
    आधारमा बस प्रभो ! भर भित्र शक्ति 
    जस्तै परिस्थिति रहोस् मन यो सँभाल ॥
    रम्ने कला सृजनसागरमा रमाऊन् 
    आऊ प्रभो ! प्रबल चेतन दीप बाल ॥
    फालूँ विकार मनका नित साधनाले
    हे ईश ! जीवन समस्त बनोस् कमाल ॥
    डा. खगेन्द्रप्रसाद दाहाल ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेसकाल ।
    आफ्नो गयो  बलबुता तन शक्तिहीन
    आए अनेकविधि रोग बनी दलाल  ।
    आफैं गरी श्रम कुनै पनि फर्सिदैन
    बढ्दो छ यो हृदयमा हुँडलो,बबाल ।
    लाग्छन् कटाक्ष विषवत् अब षोडशीका
    हुन् झैं परीगण सबै भव इन्द्रजाल ।
    बज्दैन वेणु तिरिरी जब सौख्य डाक्ने
    बन्दो छ यो तन विनाजल शुष्क ताल ।
    लौरोसमेत अब भन्दछ " वृद्ध लौ रो "
    लाग्दैछ सन्निकट कुर्दछ अन्त्यकाल ।
    हे ईश हे प्रभु कृपा गर शान्ति पाओस्
    यो जीव खास नपुगेतक ब्रह्मनाल ।
    - खाेलाघरे साइँलाे ।
    गजलः

    वसन्ततिलका छन्द
    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बूढेसकाल।
    रोजै शरीर अति जीर्ण हुँदैछ मेरो
    लागेर रोग पनि धेर भयो बबाल।
    छोरा थिए तर दुवै परदेश लागे
    रोगी हुँदा घरबुढी ननिको छ हाल।
    झारेर यो विरहमा भरमार आँसु
    पग्लेर बस्नु कतिसम्म बनी हिमाल।
    यो मर्दले अब त लौन हरेस खायो
    श्री रामको भर परेँ प्रभु तान्न थाल।
    -रामशरण न्यौपाने ।

    हे ईश यो भुवनबाट उँभो उचाल
    अत्यन्त कष्टकर लाग्छ बुढेस काल ।।
    भागेर यौवन कता छ कता हरायो 
    ऐना अगाडि उभिँदा छु निकै कराल ।।
    माया दिई न त सखी मुटु साट्छु भन्लिन्
    को फ्याँक्छ मत्स्य नभए जलभित्र जाल ।।
    छुट्टै थियो रहरिलो रङरूप आहा !
    पाक्दो छ वृद्ध वय भन्छ नसोध हाल ।।
    जा जा भनेर घरले वन भन्छ आ आ
    थोत्रा भए दलिन काम छ के निदाल ।।
    -उत्तम विचार ।

    आइतवार, माघ १४ २०८००४:२१:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार