मेघराज पाैड्याल
टाढा गयो जवानी सेतै भयो कपाल
झर्दो छ नित्य ऐले दाह्री भयो विशाल
आफ्नो कपोल सारा छन् चाउरी परेका
सामर्थ्य छैन टोक्ने जो दाँत नै झरेका।।१।।
सक्दैन उठ्न हम्मे पर्दै गयो बिहानी
झाढा पिसाब लाग्दा बन्छन् ठुला कहानी
झन् भोक लाग्छ धेरै पाको शरीरलाई
गर्दैन काम जाँतो बस्छन् बुढा नखाई।।२।।
यो जिन्दगी सबैले भोगिन्छ बार-बार
निन्दा कतै नगर्नू सेवा गरौँ हजार
पूजा प्रभात गर्छन् जो नित्य शेषशायी
सम्पूर्ण भूत भाग्ने त्यो शङ्ख नै बजाई।।३।।
इन्साफ शुद्ध गर्छन् त्यो तिक्तता पखाली
आगो समान बन्दै झिक्छन् पुरै पगाली
हुन्छिन् अनन्त दानी वृद्धा परोपकारी
जो वृद्ध छन् सुदामा सम्भाव्यका तयारी।।४।।
ज्ञानी रहन्छ आत्मा सङ्कीर्ण भाव हुन्न
चट्टान झैँ रहन्छन् झुट्ठो हुँदा नुहुन्न
माता पिता सबैका बस्छन् भलो चिताई
माया गरौँ सबैले सम्झेर शेषशायी।।५।।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।