काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।
प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बिद्युत् बक्यौता भएका ग्राहकहरूको विद्युत् लाइन काटेको हो । गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरूको लाइन काट्न सुरु गरेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो ।
शुक्रबार काटिएका १४ उद्योगको सँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरूको लाइन काटिएको छ । शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ),हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ),एभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) को लाइन काटिएको छ ।
कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ),बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ),नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ)को लाइन काटिएको छ ।
प्राधिकरणले बक्यौता नतिर्ने ६१ उद्योगको बिजुली काट्ने बताएको थियो । प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि उद्योगीहरू शुक्रबार प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।