बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

युवा अवस्थामा नै मुटुको समस्या

युवा अवस्थामा नै मुटुको समस्या

मेगा खबर संवाददाता

१२, आश्विन २०८०
  • 1.1K
    SHARES

  • युवा अवस्थामा नै मुटुको समस्या

    काठमाडौँ, असोज १२ गते, आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो । दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदय रोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ ।

    अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा-चन्द्रमणि अधिकारीले बताए । उनका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् । “युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ”उनले भने, “खास गरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।”

    डा-अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान,मोटोपना,निष्क्रिय जीवनशैली, तनाबलगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वंशाणुगतका कारण पनि हुने गरेको उहाँको भनाइ थियो । ४५ वर्ष कटेपछि वर्षमा एक पटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । खास गरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप,मधुमेह,कोलेस्ट्रोल,मोटोपना,हर्मोन,चिल्लो खानापन,तनावलगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा-अधिकारीले बताए । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उहाँले उल्लेख गरे ।

    “बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने,अलिकति हिँड्यो भने दुःखाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन ”डा-अधिकारीले भने, “हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दुःखाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।” 

    उनका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत  हृदयघात भएका बिरामी छन् । मुटुसम्बन्धी रोग विश्वव्यापी रुपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा - अधिकारीले बताए । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उनले मुटुसम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।

    मुटुरोगबाट बच्ने उपाय  

    स्वस्थ खाने कुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने,शारीरिक व्यायाम गर्ने,धुम्रपान र मद्यपान नगर्ने,मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा-अधिकारीले बताए ।दैनिक ३० मिनेट हिँड्ने, हरियो, तरकारी र फलफूल खाने,नुन,चिनी तथा चिल्लो कम खाने,बालबालिकाको घाँटी दुख्दा,टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने,कसैसँग नरिसाउने,दैनिक छदेखि आठ घण्टा सुत्नेलगायत क्रियाकलाप गरे मुटुरोगबाट बच्न सकिने उनको भनाइ थियो ।

    कार्यकारी निर्देशक डा-अधिकारीका अनुसार अस्पतालमा आएका मध्ये एक हजार छ सय बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार आठ सय मानिस उपचारका लागि आउने गरेका उनले जानकारी दिए । 

    शुक्रवार, आश्विन १२ २०८००५:२५:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार