काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप खरिद गरेर ल्याएको थियो ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए । उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरूवात गर्ने तयारी गरेको छ । दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ ।
कोशी प्रदेशमा कोशी अस्पताल,मधेश प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल,बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,लुम्बिनीमा भेरी अस्पताल बाँके,कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने डा.अधिकारीले बताए ।
उनका अनुसार खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ’उनले भने,नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिएको छ ।
विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तान क्यान्सर हुने गरेको उनले बताए । सन् २०२२ को सरकारी तथ्यांक अनुसार नेपालमा दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले जानकारी दिए । उनका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।
भाइरसका कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क,धूमपान र सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।