काठमाडौं, फागुन १४
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ । पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
साँझसम्ममा काठमाडौं अरू ठाउँमा पनि हल्का वर्षा हुने सम्भावना छ,मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्,‘यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो ।
पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । पोखरा, लमजुङ, गोरखालगायत क्षेत्र हल्का वर्षा भएको छ । प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद् कँडेलले आग्रह गरिन् ।
केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको उनले बताइन् ।