फाइजरको बुस्टर डोज आजदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगाइने भएको छ । अस्पतालका इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बिहान १० बजेदेखि ३ बजेसम्म बुस्टर डोज लगाइने व्यवस्था मिलाइएको जानकारी दिए ।
भण्डारीले भने,‘हामीले वुस्टर डोज खोप लगाउने व्यवस्था मिलाएका छौं । अब आजदेखि बुस्टर डोज दिइनेछ ।’ मुख्यतः बुस्टर डोज नपाएर विदेश जाने यात्रुहरु अफ्ठेरोमा परेका थिए । गत सोमबार कोरोना संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप सोमबार नेपाल आएको थियो । ‘खोपका लागि ग्लोबल एलायन्स’(गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।
सोमबार ३ लाख ४५ हजार ६ सय मात्रा खोप आएको हो । यसअघि फागुन १ र फागुन ४ गते ३ लाख ४५ हजार ६ सय मात्राका दरले खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत् जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।
सोमबारसहित बुस्टर डोजका लागि १० लाख ३६ हजार ८ सय मात्रा खोप नेपाल आएको छ । अब ४ लाख ६३ हजार मात्रा खोप आउन बाँकी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।