पुस महिनाको शुक्ल पूर्णिमादेखि माघ पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी देवीको एक महिने व्रत, पूजा आराधना गरिन्छ । नेपाली संस्कृतिमा वर्षका विभिन्न महिनामा विभिन्न देवीदेवताको विशेष पूजा आराधना गरिनु विशेषता नै हो । यो ऐतिहासिक परम्परा लामो समयदेखि चल्दै आएको छ । त्यसक्रममा काठमाडौंँको मुख्य शहरदेखि १६ किलोमिटर उत्तरपूर्वी दिशामा रहेको शङ्खरापुर नगरपालिकाको साँखुमा पर्ने शालीनदीको विशेष महिमा रहेको छ । स्वस्थानीकै कारण त्यस क्षेत्रको महिमा बढेको हो । त्यस क्षेत्रमा हिजोआज स्वस्थानी माता तथा माधवनारायणको मेला चलिरहेको छ ।
यसै सन्दर्भमा उपभोक्तालाई महँगीको जालमा पार्नै पर्छ भन्ने मनस्थिति केहि व्यक्तिमा रहेको छ । स्वस्थानी माताको यो पावन थलोमा व्यापारीले सामान्य वस्तु तथा सेवामा चर्को मोल असुल्ने गरेका छन् । टाढाटाढाबाट पुगेका श्रद्धालु भक्तजनलाई सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ । मठमन्दिर र धार्मिक आस्थालाई पैसासँग कारोबार गर्ने व्यवहार उचित हुँदैन । कतिपय वस्तु तथा सेवा सामान्य मूल्यमा उपलब्ध गराउने सेवामूलक भावनाले काम गर्दा धार्मिक तथा सांस्कृतिक उत्थानमा सहयोग पुग्छ । चर्को मूल्य असुल्ने कार्य अनुचित मात्र होइन, निन्दनीय मान्न सकिन्छ ।
पूजा सामग्रीहरुका रूपमा अलिकति बेलपत्र, फूलको थुँगा, सानो जटा नरिवल, थोरै जौ तिलको मूल्य तीन सय भन्दाबढि रुपियाँसम्म शालीनदीमा असुल्ने गरिएको आमभक्तजनको गुनासो छ । यस भाउलाई कुन तरिका वा पद्धतिबाट उपयुक्त मान्न सकिएला ? यसैगरी सामान्य पुरी, तरकारी, जेरीसहितको खाजाको मूल्य तीन चार सय नै असुल्ने गरेका छन् । तीन चार घण्टा सवारीसाधन पार्किङ गरेको सात आठ सय रुपियाँ शुल्क तिर्न लगाउने गरेका छन् । शौचालयका निम्ति तीस रुपियाँसम्म शुल्क लिनुले शालीनदीको मेलाका नाममा अनियमितताको पर्याय नै हो । यसमा स्थानीय सरकार, प्रदेश तथा सङ्घीय प्रशासनले के हेरेर बसेका छन् ? मौका पाउनसाथ जति पनि असल्नु पर्छ भन्ने मान्यता उचित हुन सक्ला ?
साँखु शालीनदीमा श्रद्धालु भक्तजनमाथि भइरहेको यो आर्थिक शोषणको पक्षमा स्थानीय सरकार तथा स्थानीय प्रशासनको ध्यान जानुपर्ने देखिएको छ । नगरपालिकाको उपमेयरले विशेष मेलामा तुलनात्मक रूपमा सबै महँगो हुने अभिव्यक्ति दिएर यो आर्थिक शोषणलाई आधिकारिता प्रदान गर्ने कार्य गरेका समेत देखिएको छ । यसबाट यो चर्को मूल्य असुल्ने कार्यमा नगरपालिका जस्तो स्थानीय सरकारको पनि अप्रत्यक्ष भूमिका रहेको आशङ्का उब्जाएको छ । शालीनदीजस्तो पवित्र स्थलमा यसरी भक्तजनमाथिको आर्थिक शोषण वास्तवमै निन्दनीय छ । यसमा सरोकार निकायको तत्कालै ध्यान जानुपर्छ ।