बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, यस्ता छन् अंक विभाजन

बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, यस्ता छन् अंक विभाजन

मेगा खबर संवाददाता

१६, मंसिर २०७९
  • 2.5K
    SHARES

  • बागमती प्रदेशको लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास, यस्ता छन् अंक विभाजन

    काठमाडाैँ, मंसिर १६

    बागमती प्रदेशमा सवारी चालक अनुमति पत्रको लागि ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ ।

    प्रदेशको प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकृत देवराज चौलागाईंले उक्त विषयबारे पुष्टि गरे । सूचना अधिकृत चौलागाईंका अनुसार यहि मंसिर १८ गते (आइतबार) देखि लाइसेन्सको लागि दिइने प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए चालकले लाइसेन्स पाउने छन् ।

    लिखितमा ६० प्रतिशत ल्याउनुपर्ने हुन्छ । पुरानो व्यवस्था अनुसार लिखितमा ५० अंक ल्याए पास हुने थियो । बागमती प्रदेशले आफ्नो सबै यातायात कार्यालयमा परिपत्र गरेको अधिकृत चौलागाईंले जनाएको छ । अब आइतबारदेखि 'सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७' अनुसार लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा  हुनेछ ।

    यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ । विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो ।

    सन्दर्भमा बागमती प्रदेशले गत असोजदेखि नै लाइसेन्स परीक्षामा नयाँ मापदण्ड लागू गर्ने बताएको थियो । 

    नयाँ प्रणालीमा के व्यवस्था छ ?

    निर्देशिकामा वर्ग 'क' (ए) मोटरसाइकल,स्कुटर,मोपेड र वर्ग 'ख' (बी) कार,जिप,डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ ।

    निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (कट), (एके) र वर्ग 'ख' (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रह विभागले सार्वजनिक गरेको छ ।

    यो व्यवस्था अनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान,ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ । यसमा चारचार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् ।

    लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ । निर्देशिकामा भएको व्यवस्था अनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।

    विभागले यसअघि परीक्षार्थीले आफ्नै सवारी समेत प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो । यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ । अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ ।

    प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ । 

    १,घुमाउरो आठ- २० अंक

    २,साँघुरो फलेक- १० अंक

    ३,युटर्न- १० अंक

    ४,ट्राफिक संकेत- १५ अंक

    ५, बम्प्स (उबडखाबड)- १५ अंक

    ६,उकालो- २० अंक

    ७,परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन- १० अंक

    यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

    १ घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ ।

    २ एकपटकसम्ममा खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ ।

    ३ युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ ।

    ४ ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ ।

    ५ उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।

    ६ एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ ।

    ६ सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ ।

    ८ हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ ।

    ९ असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।

    फेल हुने अवस्थाहरूः

    १ एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा हुने ।

    २ एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा हुने ।

    ३ ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा हुने ।

    ४ सवारीको स्टार्ट बन्द भएमा हुने ।

    ५, साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा हुने ।

    उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा हुने ।

    उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ ।

     

    शुक्रवार, मंसिर १६ २०७९०३:०५:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार