चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् ।
निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि भरतपुर महानगरपालिकाका सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म महानगरभित्र १०० जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् । महानगर प्रमुख रेनु दाहालले जो जहाँ छ त्यहीँ रहने गरी निषेधाज्ञा जारी गरिएको बताइन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।