काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।
दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।
भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो । हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।
दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।
भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिए ।दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ । शुक्रबार बिहान केरलाको मुन्नारमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।