काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।
विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । साह पक्राउ परे पनि राना अझै फरार छन् । उक्त घटना सिआइबीले सोमबार सार्वजनिक गरेको हो ।
सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको बदला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए । सोही चोटका कारण सुवेदी दम्पतीको मृत्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए ।
घटनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्डलगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई पक्राउ गरिएको थापाले बताउनुभयो । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।