काठमाण्डाै । मूलुकमा नोभल कोरोना भाइरसका कारण उत्पन्न महामारीकै बीच बाढी, पहिरो, डुवानजस्ता प्रकृतिक विपत्ति आइरहेको जनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले यसप्रति सतर्कता अपनाउन नागरिकहरुलाई अपिल गरेका छन् ।
असार २४ गते यताको निरन्तरको भारी बर्षाका कारण देशका अधिकांश जिल्लाहरुमा बाढी, पहिरो र डुुबानले ठूलो मानविय र भौतिक क्षति हुन पुुगेको उल्लेख गर्दै सभामुख सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको प्रति दुःख व्यक्त गरेका छन् ।
त्यस्तै गुल्मी, संखुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वत लगायतका हिमाली र पहाडी जिल्लाहरुमा बाढी, पहिरो र डुबानका कारण आठसय हाराहारी परिवार विस्थापित हुन पुगेको र तराइका जिल्लाहरु जलमग्न भएको भन्दै सापकोटाले मनसुन जारी रहेको कारण जोखिममा रहेका भूू–भागहरु, नदी किनार, कटान तथा डुबान दोहोरीने क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरुलाई विशेष सतर्कता अपनाउन अपिल गरेका हुन् ।
सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरुको पुनस्थापनाका लागि प्रयास भइरहेको जनाउँदै त्यस्ता प्रयासलाई गुणात्मक रुपमा बढाउन जरुरी रहेको बताउँदै सभामुख सापकोटाले तयारीलाई तिब्रता दिन, बेपत्ताहरुको खोजी र अबरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘हाल संघीय संसदको बैठक चलीरहेको छैन । विपत्तिमा जनताको घरदैलोमा पुुगेर सहयोगमा जुटिरहनुुभएका माननीय सदस्यहरुलाई संघ, प्रदेश र स्थानिय तहहरुसंग समन्वयगरि आ–आफ्नो ठाउँबाट पहल जारी राख्नु हुन म आह्वान गर्दछु’, सापकोटाले भनेका छन– ‘ विपद्का बेला प्रदेश र स्थानियतहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय छ । यो कष्टकर परिस्थितिमा उद्धारका लागि अग्रपंक्तिमा खटिइरहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवीहरुको उच्च प्रशंसा गर्दै विपत्तिमा परेका नागरिकहरुको यथासक्य छिटो उद्धार, राहत र पुनस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।’
विपत्तिका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली र स्वजनको मृत्युवियोगमा रहेका परिवारमा समवेदना प्रकट गर्दै सापकोटाले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामना गरेका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।