“अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ ।
एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ” कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ हो । सङ्क्रमित भएर एकान्तबासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उनको छ ।
सङ्क्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ । कोरोना सङ्क्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले भने, “कोरोना सङ्क्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश व्यक्तिमा यो समस्या देखिने गरेको छ ।”
उहाँले एकान्तबासमा रहँदा शारीरिक स्वास्थ्यको ख्याल गरे पनि मानसिक स्वास्थ्यका बारेमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको बताउँदै कोरोना सङ्क्रमण मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको र सङ्क्रमित वा अस्पताल भर्ना हुँदैमा केही हुन्छ कि भन्ने डरले मानसिक समस्या निम्त्याइरहेको बताए ।
उनले एकान्तबास बसेका र सघन कक्षमा उपचारपछि निको भएका व्यक्तिमा मानसिक समस्या देखिएको जानकारी दिए। यसलाई चिकित्सकीय भाषामा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिने गरिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।