बाढीमा परी बेपत्ता हुनेको पहिचान खुल्यो
सिन्धुपाल्चोक । बाह्रबिसेमा आएको बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।
सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
सभामुख र मन्त्रि दुलाल घटनास्थलमा
मध्यरातमा अरनिको राजमार्गको जम्बुमा आएको बाढीले घाइते बनाएकाहरुको उद्धारका लागि सभामुख अग्नी सापकोटा र वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल घटनास्थल पुगेका छन् ।
मन्त्री दुलालले बाढीले सडक कटान गरेका कारण हवाई मार्गबाट घाइतेको उद्धार गर्नुपर्ने अवस्था भएकाले हेलिकोप्टर लिएर आएको बताए ।
यसअघि एकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । नेकपा केन्द्रीय सदस्य माधव सापकोटा र नेपाली कांग्रेसका नेता विष्णु खत्रीको टोलीले घाइतेलाई उपचारका लागि काठमाण्डौं लगेका हुन् ।
घटनास्थल जाने बाटो पहिराले अवरुद्ध छ । नेपाली सेना र प्रहरी उद्धारमा खटिएको छ । बाह्रबिसे बजारबाट करिव ३ किमि तातोपानीतर्फको जम्बुबस्तीको करिव आधा भाग बगाएको छ । मध्यभोटेकोसी विद्युत आयोजानको पावरहाउस निर्माणको क्रममा सामान स्टोरका लागि वनाएइका संरचनालाई पहिराले पुरेको छ ।
स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारता भागाभाग भएको थियो । राती १२ बजे आएको बाढीले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी कारण सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ ।
यता घाइतेको उद्दारको लागि गएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सहितको टोली रहेको हेलिकप्टर दुर्घटनाहुनबाट जोगिएको छ । कैलाश एयरको हेलिकप्टर उद्दारको लागि बिहान ८ बजे काठमाण्डौबाट उडेको थियो । मौसम खराबिका कारण झण्डै दुर्घटना भएको सापकोटाले बताए । सो हेलिकप्टर अहिले काभ्रेको मंगलटारमा अवतरण गरिएको छ ।
जम्बु बजार समेत १४ घर बगायो, २ को मृत्यु २० बेपत्ता
सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका ५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु बजार बगाएको हो । बाढीले १४ घर बगाएको छ भने २० जना बेपता भएका छन् २ को शव फेला परेको छ । बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शव भेटिएको छ । अन्य बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यसैबीच डिएसपी काफ्लेका अनुसार ड्यामसाइड समेत बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् जम्बु र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको तर ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानु परेकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाले जानकारी दिएका छन् ।
घाइते एकजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो
सिन्धुपाल्चोेक पहिरोमा परि घाइते भएका एकजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोले सिँगो गाउँ नै क्षति पु¥याएको छ ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको र उद्धार जारी रहेको उनले बताए ।
यता घाइतेको उद्दारको लागि गएको नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा सहितको टोली रहेको हेलिकप्टर दुर्घटनाहुनबाट जोगिएको छ । कैलाश एयरको हेलिकप्टर उद्दारको लागि बिहान ८ बजे काठमाण्डौबाट उडेको थियो । मौसम खराबिका कारण झण्डै दुर्घटना भएको सापकोटाले बताए ।

बाढी आएको क्षेत्रमा पानी परिरहेकोले घाइतेहरुको उद्दारमा कठिनाई, जिल्लामा आपतकालिन बैठक बस्दै
बाढी आएको क्षेत्रमा पानी परिरहेको कारण घाइतेहरुको उद्दार हुन सकेको छैन । बलेफी गाउँपालिका– ८ जुरेबाट ७ स्थानमा सडक अबरुद्ध भएको छ । जुरे, खुर्सानीबारी, खाग्दल, झालेभीर, चाकु, लिस्ती जानेबाटो र डाक्लाङमा बाढीले सडकमा क्षति पु¥याएको छ । जसका कारण उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।
सो ठाउँमा घाइतेहरुको कसरी उद्दार गर्ने र स्थानीयलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालिन बैठक बसिरहेको छ । बैठकले मौसम नखुलेसम्म उद्दार गर्न नसकिने निचोड निकालेको छ । ‘ठाउँठाउँमा बाटो अबरुद्ध छ, जानसक्ने अवस्थानै छैन’, विपद् व्यवस्थापन समितिको अध्यक्ष समेत रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने– ‘हेलिकप्टर समेत जानसक्ने अवस्था छैन, यस्तो बेला कसरी उद्दार गर्ने हामी अन्यौलमा छौं ।’
बाढीले तहसनहस बाह्रबिसे नगरपालिकाका मेयर भन्छन उद्धार गर्नै कठिन भयो

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारी अनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ । बाढीले नगरपालिकाको २ वडामा बढी क्षति भएको छ । फकथोल भन्ने स्थानमा रहेको वडा नम्बर ५ को पक्की पुल बगाएको छ ।’ उहाका अनुसार स्थानीयसहित र नेपाल प्रहरी र नेपाली सेना उद्धारमा खटिए पनि अवरुद्ध बाटो, पहिरो र मौसमले समेत साथ नदिँदा समस्या भएको छ । चार ठाउँ भन्दा बढी स्थानमा ठाडो खोलले क्षति पुर्याएको छ भने गाडी र एम्बुलेन्स समेत जाने अवस्था छैन । ‘मानिस समेत हिँडेर घटनास्थल पुग्न सक्ने अवस्था छैन । अहिले हामी गाउँगाउँबाट छिरेर स्टेचरमा बोकेर विरामीहरु बोकेर ल्याइरहेका छौ’, मेयर शेर्पाको भनाइ छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको पुलसहित चालीस मिटर सडक नै बाढीले बगाएको छ । त्यस्तै वडा नम्बर ५ को जम्बु भन्ने स्थानमा मानवीय क्षती भएको पनि मेयर शेर्पाले जानकारी दिए । त्यस्तै, बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको बाह्रविसे नगर प्रमुखे शेर्पाले बताए ।

त्यसैगरी बाह्रविसेका स्थानिय यूधिर पौंडेलले जानकारी दिए अनुसार अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इलाका प्रहरी कार्यालय आसपास लगायत जम्बु बजारसम्मका सडक र पुल बाढीले बगाउनुका साथै जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को समेत खस्न थालेपछि तटीय क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । एल्मो खोलामा आएको बाढीले एल्मोको शीर रहेको बुगाम गाउँको केहि घर पनि क्षति पु¥याएको र भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसे छेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राती नै स्थानीयहरु खाकदल बजार छोडेर भागेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।