काठमाडौ, बागमती प्रदेश सरकारको पछिल्लो निर्णयले सिन्धुवासीलाई केही राहत प्रदान गर्ने निश्चित भएको छ ।
काठमाडौ,जोडिएको जिल्ला भएरपनि सिन्धुपाल्चोकमा सुविधा सम्पन्न अस्पताल छैन । त्यसैले, सामान्य रोगबाहेक सबै बिरामी धुलिखेल वा राजधानी पुग्नुपर्ने बाध्यता छ ।
पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल र माओवादी केन्द्रका नेता माधव सापकोटाले कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै स्वास्थ्यकर्मीसहित सरोकारवालासँग सदरमुकाम चौतारामा छलफल गरेर अक्सिजन प्लान्ट र पिसिआर मेशिन राख्न गरिएको प्रस्तावमा प्रदेश सरकारले थप सुविधासहित निर्णय लिएको हो । प्रस्तावको फाइल बोकेर पूर्वमन्त्री दुलाल प्रदेश सरकारकहाँ पुगेका थिए । सो फाइललाई मुख्यमन्त्री डोरमणि पौडेलले पास गराएका हुन् ।
पूर्वमन्त्री दुलालले दिएको जानकारीअनुसार जिल्ला सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट र पिसिआर मेशिन राख्न प्रदेश सरकारले स्वास्थ्य कार्यालयलाई पत्रसमेत पठाउने निर्णय गरेको छ ।
अक्सिजन प्लान्ट र पिसिआर मेसिनसहित ११ हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड र अक्सिजन जडित ५४ बेड कोभिड आइसोलेसन वार्ड बनाउन सामाजिक विकास मन्त्रालयले पत्र तयार पारेको छ ।
प्रदेश सरकारको निर्णयसँगै जिल्लामा एचडियु वार्ड निर्माण सुरु गरिएको दुलालले जानकारी दिए । ११ एचडियुमध्ये ६ चौतारा अस्पताल र ५÷५ मेलम्ची र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा तयार हुँदैछ । अक्सिजनसहितको बेड चौतारामा २४ र १५÷१५ वटा मेलम्ची र बाह्रबिसेमा राखिने निर्णय भएको छ ।
एचडियु वार्डसहित बन्न केही दिन लाग्ने बताउँदै पूर्वमन्त्री दुलालले प्रदेश सरकारको निर्णयले सिन्धुवासी खुसी भएको बताए ।