बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

मेगा खबर संवाददाता

२२, बैशाख २०७८
  • 1.7K
    SHARES

  • बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

    कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ ।

    २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् ।

    शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।

    पुतलीसडक स्थित नारायण गौतमले विद्यार्थीहरु निकै मारमा परेको बताउँदै भने, “कक्षा १० को पूरै कोर्स सकिएको छैन । अनलाइनबाट पढाइ सुरु गरेका छौँ तर कहिले के कहिले के समस्या देखाएर सबै विद्यार्थीको उपस्थिति छैन । निर्धारित मितिमै परीक्षा हुने हो भने यी विद्यार्थीले न्याय पाउने देखिदैन ।”

    गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिररपुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन ।

    दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ । धनगढीको मनिहरास्थित सरस्वति माध्यमिक विद्यालयकी विज्ञान शिक्षक चन्द्रा दवाडी सुवेदीले कक्षा १० मा ८० प्रतिशतमात्र पठनपाठन सकिएको बताउँदै थपे, “छापिएको प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराएर परीक्षा लिने विधि अपनाउँदा राम्रो हुने थियो ।”

    गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहो¥याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    बुधवार, बैशाख २२ २०७८०७:२०:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार