धनकुटा, विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नाै दिनका लागि बन्द गरिएको छ ।
धनकुटा नगरपालिका काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गते सम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
धनकुटा नगरपालिका ६ मा रहेकाे धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।
छात्रमा ज्वरो सहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएकाे छ । विद्यार्थीमा कोरोना सङ्क्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनिश्चित कालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि लक्षण देखिएका सबै विद्यार्थीको पीसीआर परीक्षण सुरु गरिएको छ ।
धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्न आह्वान गर्नुभएकाे छ ।
प्रकाशित सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ । धनकुटामा अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई रहेकाे छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।