काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित छैनन् ।
नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।
बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ । सरकार र पार्टीमा कामको समीक्षा सहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।
बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ ।
बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमा नबस्ने सोच अनुसार नै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।
प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।