आर्थिक बर्ष ०७७\०७८ का लागी झण्डै ४४ करोडको बजेट पारीत गर्दै बलेफी गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँसभामा प्रस्तुत संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट गरि ४३ करोड ४६ लाख ९१ हजारको बजेट सर्वसम्मतले पारीत गरेको हो ।
कोरोना कहरकाबीच ल्याइएको बजेट स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सामाजिक विकासमा केन्द्रित रहेको छ ।
कोरोना र लकडाउनको मारमा परेका नागरिकका समस्यालाई मध्यनजर गर्दै बलेफीले करको दर घटाएको छ । सम्पती तथा व्यवसाय करमा ५० प्रतिशत घटाईएको छ । ‘व्यवसाय सबै डामाडोल छन्, लकडाउनको मारमा परिरहेका नागरिकको अवस्था मध्यनजर गर्दै व्यवसाय कर ५० प्रतिशतले घटाईएको छ’, गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भन्नुभयो ।
कोरोना कहरकाबीच कृषकहरुलाई बिषादीरहित उत्पादनमा प्रोत्साहन गर्ने बलेफी गाउँपालिकालेनीति लिएको छ । बिषादीरहित तरकारी, फलफुल उत्पादन तथा पशुपालनमा किसानलाई प्रोत्साहन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादनमा जोड दिँदै बलेफीले बाँझो जग्गा उपयोगको नीति लिएको छ । स साना र टुक्रे योजनामा बजेट खर्च हुने र काम नदेखिनेगरेको स्मरण गर्दै बलेफीले हरेक वडाका मुख्य सडक स्तरोन्नतीका लागी एकमुष्ट बजेट छुट्याएको छ । वडागत रुपमा ६४ लाख बजेट मध्ये सबै वडाले ५० लाख बजेट मुख्य सडक स्तरोन्नतीमै छुट्याएका छन् । गाउँपालिकाभित्रका सडक छेउमा वृक्षारोपण गर्दै बलेफीले ‘ग्रीन रोड’ को नीति पनि सार्वजनि गरेको छ । गाउँपालिका उपाध्यक्ष कमला कायस्थले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा ग्रीन रोड र ग्रीन सीटीको योजना उल्लेख छ ।
विकास योजनाका काम प्रभावकारी बनाउन बैशाखभित्रै काम सम्पन्न गर्ने नीति पनि गाउँसभाले पारीत गरेको छ । माघ मसान्तसम्म योजना सम्झौता र बैशाख मसान्तसम्म सम्पन्न गर्ने नीति पारीत भएकोप्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।